काठमाडौं — भारतको पञ्जाब राज्यस्थित अमृतसरमा दशहराको दिन रावणको पुत्लादहन हेरिरहेका मानिस ट्रेनमा ठोकिएर मरेको घटना याद गरेर स्थानीयहरू अहिलेसम्म काँपिरहेका छन् ।
मृतकका परिवारको आँखामा आँसु सुकेको छैन । यो वीभत्स दुर्घटनामा मारिएका ११औं कक्षामा पढ्ने मनीषका पिता विजय कुमारको पीडालाई कसैले पनि कम गर्न सक्दैन ।
उनी आफ्नो छोरोको काटिएको टाउकोको तस्वीर लिएर घुमिरहेका छन् र उसको शरीर कसैले देखेको छ कि मानिसहरूलाई सोधिरहेका छन् ।
छोरोको भयावह मृत्युलाई याद गरेर उनी रुँदै भन्छन्, ‘मनीष आफ्ना साथीहरूसँग मिलेर दशहरा हेर्न गएको थियो । तर दुर्घटनास्थलमा ऊ भेटिएन । आज मलाई ह्वाट्सएपमा कसैले काटिएको टाउकोको तस्वीर पठायो । छोरोको
त्यस्तो तस्वीर देखेर म स्तब्ध भएँ । म तुरुन्तै अस्पताल पुगेर उसको शरीरको खोजी गर्न थालें ।’
विजयजस्तै धेरै मानिसले दुर्घटनामा आफन्त गुमाएका छन् । कीमती लाल आफ्नी नातिनी नूरसँग दशहरा मनाउन खोजेको थिए । नातिनी जम्मा डेढ वर्षकी छिन् ।
लुधियानाबाट उनले छोरी अनुलाई घर बोलाएका थिए । तर छोरी र नातिनीलाई गुमाउनुपर्दा उनी आफूलाई जिम्मेवार ठह¥याउँदै ग्वाँग्वाँ रुन्छन् ।
कीमती लाल दुर्घटनाको दुःखद क्षणलाई याद गर्दै भन्छन्, ‘हामी तीनैजना ट्य्राकमा थियौं । ट्रेन देखेपछि हामी दौडियौं तर मानिसहरू हामीमाथि खस्न थाले । त्यसपछि के भयो मैले थाहा पाइनँ ।’
एजेन्सी