
काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजानिक स्थल तथा स्वास्थ्य संस्थाहरूमा स्तनपान कक्ष बनाउने भएको छ ।
चालू आवमा ३० वटा स्तनपान कक्ष स्थापना गर्ने तयारी भइरहेको मन्त्रालयका परिवार स्वास्थ्य महाशाखा प्रमुख डा. आरपी विच्छाले जानकारी दिए ।
महाशाखाले देशका विभिन्न ३० वटा स्वास्थ्य संस्थालाई मातृ तथा बालमैत्री अस्पतालका रुपमा विकसित गर्ने कार्य समेत अगाडि वढाएको छ । ‘सात वटै प्रदेशलाई समेट्ने गरी ३० वटा स्वास्थ्य सस्थालाई मातृ तथा बालमैत्री अस्पतालको रुपमा विकास गर्न उपकरण, जनशक्ति तथा औषधिको व्यवस्था गर्दैछौं । स्थान छनौट गर्ने कार्य कार्य अगाडि बढिरहेको छ,’ उनले भने ।
टेकुस्थित स्वास्थ्य सेवा विभागको भवनमा स्तनपान कक्ष स्थापना भइसकेको छ । यसअघि परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालमा समेत स्तनपान कक्ष बनाइएका थिए ।
अर्कोतर्फ ‘सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी ऐन २०७५’ मा सरकारी, गैरसरकारी, निजी संघसंस्थाले आ–आफ्ना कार्यालयमा कार्यरत महिलालाई शिशु जन्मेको २ वर्षसम्म कार्यालय समयमा आमाको दुध चुसाउन छुट्टै कोठाको व्यवस्था गर्नुपर्ने प्रावधान छ । संविधानको मौलिक हक कार्यान्वयन गर्न संसदले सो सो ऐन बनाई जारी गरेको थियो ।
पछिल्लो समय मन्त्रालयले शिशु मृत्युदर घटाउन स्तनपानलाई प्रवद्र्धन गर्दै आएको छ । शिशु मृत्युदर (प्रतिहजार जीवित जन्ममा) र नवजात शिशु मृत्युदर (प्रतिहजार जीवित जन्ममा) क्रमशः ३३ र २३ रहेको छ । ५ वर्षमुनिका बालमृत्युदर (प्रतिहजार जीवित जन्ममा) ३८ तथा मातृमृत्युदर (प्रतिलाख जीवित जन्ममा) २ सय ५८ मा झरेपनि शिशु, बाल तथा मातृ मृत्युदर घटाउनका लागि उल्लेख्य रुपमा प्रगति भएको देखिँदैन ।
स्तनपानलाई सबैभन्दा पुरानो र पहिलो खोप मानिनुका साथै मुखबाट दिइने सुरक्षित खोप पनि भनिन्छ । डा. कृष्ण पौडेल भन्छन्, ‘आमाको दूधमा रोग निरोधक तत्व हुन्छ, यसले नवजात शिशुमा रोगसित लड्नसक्ने क्षमता बढाउँछ । शिशुलाई चाहिने सम्पूर्ण आहार नै दूध हो । शिशुका लागि सबैभन्दा सुरक्षित पानीको स्रोत पनि दूध हो ।’
शिशुलाई स्तनपान गराउनाले गर्भ निरोधकको काम हुने, शिशु जन्मनासाथ छातिमा टाँसेर राख्दा पाठेघर खुम्चिने प्रक्रियालाई सक्रिय पारी सालनाल निस्कन सहयोग पुर्याउने र रक्तस्राव समेत बन्द गर्न मद्दत पुग्ने तथा आमाको तनाव समेत कम हुने उनी बताउँछन् ।
स्वास्थ्य सर्वेक्षणका अनुसार जन्मेको १ घण्टाभित्र ५५ प्रतिशत नवजात शिशुले मात्र आमाको बिगौती दूध चुस्दछन् । यसैगरी २ वर्षभित्र निरन्तर दूध चुस्ने बालबालिकाको संख्या ८८ प्रतिशत छ ।
अर्कोतर्फ स्तनपानलाई प्रवद्र्धन गर्न ‘आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु विक्रीवितरण नियन्त्रण ऐन २०४९’ तथा नियमावली २०५१ लागू गरिएपनि यसको प्रभावकारी अनुगमन नहुँदा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु भने बिक्री बढिरहेको पाइन्छ ।