
डोटी – बडीमालिका मेलाबाट बेपत्ता भएका डोटीका सञ्चारकर्मी तेजबहादुर खड्का ‘तेजु’ हराएको २ महिना हुन लाग्दासमेत उनको अवस्था अझै अज्ञात छ ।
गएको भदौ ९ गते बाजुरास्थित बूढीनन्दा मेलाबाट घर फर्किने क्रममा बेपत्ता भएका खड्काको अवस्थाबारे अहिलेसम्म केही थाहा हुन सकेको छैन । उनकोे खोजीका लागि सरकारी निकायको लापरवाही देखिएको तथा खोजी र छानविनका लागि गठन भएको मिसन टोलीको समेत उदासिनता देखिएको आरोप डोटीका सञ्चारकर्मीको छ ।
नेपाल प्रेस युनियन डोटी शाखाका संस्थापक अध्यक्षसमेत रहेका खड्काको खोजी कार्यमा ध्यान दिन विभिन्न निकायलाई आग्रह गरिएको युनियनका जिल्ला अध्यक्ष प्रकाश बमले बताए । प्रेस युनियनमा आबद्ध सञ्चारकर्मी खड्काको खोजीका लागि युनियका केन्द्रीय अध्यक्ष बद्री सिग्देलको नेतृत्वमा केही महिनाअघि मिसन टोली बनाइएको थियो ।
टोलीले धनगढी हुँदै घटनास्थल रहेको बाजुरा जिल्लासम्म जाने भनेपनि त्यहाँ नपुगेको भन्दै डोटीका सञ्चारकर्मी निराश भएका हुन् । सरकारले ‘तेजु’को खोजी कार्यमा खासै चासो नदेखाएको प्रेस युनियनको आरोप छ ।
सञ्चारकर्मी खड्का बेपत्ता भएपछि नेपाली सेनाको हेलिकप्टर र सुरक्षा निकायको टोली पठाएर छानबिनको प्रयास गरिएको थियो । टोलीले स्थलगत अध्ययन गरेपनि हालसम्म उनको अवस्थाबारे ज्ञात हुन सकेको छैन ।