
काठमाडौँ- राष्ट्रिय किसान आयोगले प्रमुख बालीको (धान, मकै, कोदो, फापर, गहुँ, उखु आदि) समर्थन मूल्य तोक्न सरकारसँग माग गरेको छ ।
“बालीका समर्थन मूल्यले किसानलाई ठूलो आर्थिक राहत पुग्छ”, आयोगका अध्यक्ष चित्रबहादुर श्रेष्ठले भने । आयोगको विशेष पहलमा कृषि तथा पशुपक्षी मन्त्रालयले हालै धान र उखुको न्यूनतम समर्थन मूल्य तोकेको थियो । मकै र गहुँको पनि समर्थन मूल्य निर्धारण हुने क्रममा रहेको बताइएको छ ।
आयोगका अनुसार ६६ प्रतिशत नागरिक जीविकोपार्जनका लागि कृषिमा आश्रित रहेका छन् । कूल ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २८ दशमलव ८ प्रतिशत छ । विसं २०७३ माघ ६ गते आयोग गठन भएको थियो । आयोगले किसानका समस्या सम्बोधन गर्न अनुगमनसमेत गर्दै आएको छ ।
“किसानका लागि सञ्चालित विकास आयोजनाको अनुगमन तथा नीति निर्माण तहमा किसानको प्रतिनिधित्वको शुरुआत आयोगमार्फत नै भएको छ”, अध्यक्ष श्रेष्ठले भने, “अनुगमन टोलीमा किसानको सहभागिताले उनीहरुलाई नयाँ प्रविधि सिक्न तथा नीति निर्माण तहको सहभागिताले आफ्ना समस्या सम्बोधन गर्न बल मिलेको छ ।”