
काठमाडौं– विश्वका घुम्नलायक उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौं पाचौं नम्मबरमा परेको छ । अमेरिकी ट्राफल गाइड बुक अर्थात ट्राभल वेब साइट लोन्ली प्लानेटले सन् २०१९ मा घुम्नलायक विश्वका १० उत्कृष्ट शहरको सूचि निकालेको हो ।
जसमा काठमाडौंले मेक्सिकोसिटी, सेनेगल, वाशिङ्गटन, क्रोयसिया र मोरक्कोलाई पछि पारेको छ । पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन छ । दोस्रोमा चीनको शेनचेन, तेस्रोमा सर्भियाको नोभिसाद, चौथोमा फ्लोरिडाको मियामी छन् ।
सन् २०१५ अर्थात साढे तीन वर्षअघिको भूकम्पको पीडा भुलेर काठमाडौंले विश्वभरका पर्यटकलाई स्वागत गर्न तयार र आतुर रहेको लोन्ली प्लानेटले उल्लेख गरेको छ । हिमाल प्रवेश गर्ने ढोकाको रुपमा काठमाडौंलाई ब्याख्या गरिएको छ ।
पुनर्निर्माणले काठमाडौँ शहरलाई पुनर्ताजकी गरेको, विशेष गरी ऐतिहासिक क्षेत्र पर्यटकलाई स्वागत गर्न तयार रहेको बताइएको छ । लोन्ली प्लानेटले अव्यस्थित सवारी व्यवस्थापनका लागि बदनाम भएको काठमाडौँ शहर अहिले हर्न निषेध गरिएकाले राम्रो बनेको र विद्युत आपूर्ति भरपर्दो भएको तथा वाइफाइ कनेक्सन बिस्तार हुनुले पनि घुम्न लायक बनेको जनाइएको छ ।