यतिबेला काठमाडौंको भृकुटीमण्डपमा लोकदोहोरी गीतको प्रतियोगिता भइरहेको छ । पाँच दिनसम्म चल्ने कार्यक्रममा देशका विभिन्न दोहोरी साँझका लोकगायक तथा गायिकाले प्रतिस्पर्धा गरिरहेका छन् । दोहोरीको माहौल जमेको छ त्यहाँ ।

तर पोहोरपरार हुने कार्यक्रमभन्दा यसपटक दर्शकको चाप कम भएको हो कि भन्ने अनुभूति पनि हुन्छ । जे होस्, पारिलो घाममा बसेर बदाम खाँदै दोहोरीको मजा लिने लोकगीतप्रेमी दर्शकको कमी पनि थिएन भृकुटीमण्डपमा ।
लोक संस्कृति बिस्तारै ओझेलमा पर्दै गएको हो कि भन्ने सन्दर्भ चलिरहँदा लोककलाकार भने पछिल्लो समयमा लोकगीतले पनि सिँढी चढ्न थालेको बताउँछन् ।
भृकुटीमण्डपमा कार्यक्रम हेर्न आउने केटाकेटीदेखि बूढाबूढी दर्शकलाई दोहोरीमार्फत कलाकारले नचाइरहेका थिए । राम्रो नाच्ने दर्शकलाई पुरस्कारको पनि व्यवस्था थियो ।
उपस्थिति दर्शकमा लोकगीतको संरक्षण हुनुपर्छ भन्ने धारणा राख्छन् ।
‘लोकगीतमा प्रयोग हुने बाजाहरू मन पर्छ । हामीले हाम्रो संस्कृति यस्तै कार्यक्रम गरेर जोगाउनुपर्छ,’, मकवानपुर घर भई काठमाडौंमा बस्दै आएका दृष्टिविहीन तारानाथ लामा भन्छन् ।
उनी आइतवार दिनभरि खुबै ध्यानपूर्वक दोहोरी सुनेर बसिरहेका थिए ।
कुर्सीमा बसेर गीत सुनिरहेकी देवीमाया कुँवर जोरपाटीमा बसोबास गर्छिन् । पर्वत घर बताउने उनी लोकगीतले आफूलाई सन्तुष्टि दिने भएकाले नै आफू कार्यक्रममा आएको बताउँछन् । ‘हामीले आफ्नो संस्कृति भुल्नु हुँदैन । बोलीचालीका शब्द राखेर गीत लेखिनुपर्छ,’ उनी भन्छिन् ।
‘अहिलेका युवापुस्ता लोकगीततर्फ त्यति आकर्षित छैनन् । पहिलेका लोकगीतहरू राम्रा थिए । अहिलेका कलाकार नाममात्रका कलाकार बनेका छन् ।’ पेशाले शिक्षकसमेत रहेको बताउने पाल्पाका अच्युत घिमिरे बताउँछन् ।

‘अंग्रेजी तथा अश्लील भाषाले नेपाली गीतको स्तर घटाएको छ । यसको जगेर्ना हुन जरूरी छ’, उनी थप्छन् ।
त्यस्तै अर्का दर्शक सुदीप दवाडीले आफू यस्ता कार्यक्रममा उपस्थित हुँदा मनदेखि नै खुशी लागेको बताउँछन् । दोहोरी भनेपछि आफूलाई अन्तरात्मादेखि नै खुशी लाग्ने बताउँछन् उनी । ‘संस्कृतिलाई झल्काउने खालका प्रस्तुतिले आफूलाई नाच्न प्रेरित गरेको छ’, उनी सुनाउँछन् ।
नुवाकोटका बासु ठकुरी बर्सेनि हुने यस कार्यक्रममा उपस्थिति जनाउने बताउँछन् । उमेरले पचास टेकेका ठकुरीको जोश भने लोकगीतमा उस्तै छ । ‘स्थानीय स्तरमा म पनि कलाकार नै हुँ । रेडियोमा हुने कार्यक्रम तथा जिल्लामा हुने कार्यक्रममा भाग पनि लिने गर्छु,’ उनी बताउँछन्, ‘लोकगीतमा लोकसंस्कृति झल्कने खालका गीतहरू आइदिएहुन्थ्यो भन्ने लाग्छ ।’
शहरको तुलनामा गाउँतिर भने अझै पनि युवापुस्ताले लोकगीत सुन्ने गरेको ठकुरी बताउँछन् ।
काठमाडौंको पुतलीसडक बस्दै आएकी दीपा कार्की अधिकारी हरेक दोहोरी गीतमा उस्तै उत्सुकताका साथ नाचिरहेको देखिन्थिन् । ओखलढुङ्गा घर भएपनि लामो समयदेखि काठमाडौंमा बसोबास गरेकी उनी कोठामा पनि लोकगीत बजाएर नाचिरहने बताउँछिन् ।
‘पूर्वतिर सुनिने गीतहरू भने यताको भन्दा केही फरक हुन्छन् । उता अलिक काँठे गीतहरू सुनिन्छ,’ उनी भन्छिन्, ‘लोक तथा दोहोरी गीत सुन्दा छुट्टै खालको रमाइलो अनुभूति हुन्छ ।’
आजभोलि भने गीतमा आधुनिकताका नाममा विकृति भित्रिएको छ उनी बताउँछिन् ।
‘नेपाली लोकगीतको समस्या भनेको नै अश्लीलता हो । ज्योति मगर यस्तो विकृतिको उदाहरण हो । पुराना गीतहरू साँच्चिकै रमाइला हुन्थे’, बझाङका सागर खड्का थप्छन् ।

काठमाडौंमा एघार कक्ष पढ्दै गरेकी मैतिदेवी बस्ने दाङकी आश्मा आचार्य आफ्नो पूरै परिवार लोकगीतको फ्यान भएको बताउँछिन् । कार्यक्रमस्थलमा नाचिरहेको अवस्थामा भेटिएकी उनी भन्छिन्, ‘पछिल्लो समयमा केही विकृति त आएकै हो । छाडा गीत बनाएका छन् । यसलाई सुधार गर्दै मौलिक गीतको जगेर्ना भने गर्नुपर्छ ।’
निष्कर्षतः पछिल्लो पुस्ता लोकसंस्कृतिप्रति झुकाव राख्न नसक्नुको कारण आधुनिकीकरण या विदेशी गीत संगीतको प्रभाव मात्र होइन । नेपाली कलाकारको पनि कमजोरी देखिन्छ । कलाकारले चर्चित हुने बहानामा गीतहरू रिमिक्सतिर ढालेका छन् । संगीतको दायरा फराकिलो बनाउनु एउटा पक्ष देखिएपनि यसमा भित्रिएका विकृतिले सम्पूर्ण लोक संगीतले नै यसको असर भोग्नुपरेको छ ।
आफ्नै मौलिक बाजा, मौलिक संस्कृति र आफ्नो परिवेश लोकगीतमा उन्न सकियो भने लोककलाकारले दर्शकको स्नेह कालान्तरसम्म पाइरहनेछन् ।