
काठमाडौं — टर्कीमा ५५ वर्षीय एक व्यक्तिले एक वर्षमा प्रहरीलाई ४५ हजारवटा फोनकल गरेको र कुनै उजुरी नगरेको पाइयो ।
अन्तिममा प्रहरी उक्त व्यक्तिको बानीबाट हैरान भएर अदालतमा मुद्दा हाले । अदालतमा उक्त व्यक्तिले दुई वर्षअघि पारपाचुके भएपछि एकदमै एक्लो अनुभव गरेको र दुःखपीडा सुनाउन फोन गर्ने गरेको बताए ।
अदालतले उनलाई पाँच वर्षको सजाय सुनाएको छ ।
यो घटना इस्तानबुल नजिक बयरामपासामा भएको हो । त्यहाँका सेरेफ क्यानले सन् २०१७ को मे १५ देखि सन् २०१८ को मे १५ सम्म दिनदिनै १०० चोटि इमर्जेन्सी नम्बरमा फोन गरे ।
इमर्जेन्सी नम्बरमा फोन उठाउने व्यक्तिसँग सेरेमले कुरा गर्ने तर कुनै उजुरी दर्ता गराएन । यो सिलसिला दिनदिनै कायम रह्यो ।
केही महिनापछि प्रहरी अधिकारीहरू हैरान भए र सेरेमविरुद्ध इस्तानबुल प्रहरीको कम्युनिकेसन र इलेक्ट्रोनिक डिपार्टमेन्टमा उजुरी दर्ता गरे ।
अनुसन्धानमा उनीमाथि अधिकारीहरूको कामलाई प्रभावित गरेको आरोप लाग्यो । इस्तानबुल फौजदारी अदालतमा पुर्पक्ष चल्दा सेरेमले प्रहरी विभागसँग माफी माग्दै एक्लोपन हटाउन फोन गर्ने गरेको बताए ।
पत्नीसँग डिभोर्स गरेपछि रक्सीमा डुबिरहने र डिप्रेसनमा पुग्ने गरेका सेरेमले इमर्जेन्सी नम्बरमा फोन गरेर एक्लोपन हटाउने गरेको पाइयो ।
एजेन्सी