
काठमाडौं – नेपाल र मलेसिया सरकारबीच श्रम समझदारी पत्र (एमओयू) मा हस्ताक्षर हुने भएको छ ।
दुई देशबीच पटक–पटक भएको छलफलपछि श्रम सम्झौता गर्ने सहमति भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका एक अधिकारीले बताए ।
दुई देशबीचको श्रम सम्झौतामा हस्ताक्षर गर्न मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरन आगामी आइतबार नेपाल आउने कार्यक्रम तय भएको उनले बताए ।
मलेसियाको रोजगार खुलाउन यही कात्तिक १२ गते (सोमबार) नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संसाधन मन्त्री एम कुलासेगरनले सम्झौता पत्रमा हस्ताक्षर गर्दैछन् ।
गत असोज १२ गते मलेसियामा भएको छलफलले सहमतिलाई अन्तिम रूप दिएको थियो ।
दुई देशबीच एमओयूमा हस्ताक्षर भएपछि विगत ५ महिना अघिदेखि रोकिएको श्रम स्वीकृति पुनः खुल्नेछ ।
दुई देशबीच भएको सहमतिअनुसार वैदेशिक रोजगारीका लागि मलेसिया जाने कामदारले भिसा प्रक्रियाका लागि आर्थिक भार बेहोर्नुपर्ने छैन ।
नेपाली कामदारको भिसा प्रक्रियामा लाग्ने खर्च मलेसियाको रोजगार दाताले बेहोर्ने छ ।