२९ असार २०८३, सोमबार

नेपाल कतारबीच फूटबल विकासमा सहकार्य हुने, भयो सम्झौता

कात्तिक ७, २०७५
नेपाल कतारबीच फूटबल विकासमा सहकार्य हुने, भयो सम्झौता

काठमाडौं – फूटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ । 

कतार भ्रमणमा रहेका अखिल नेपाल फूटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फूटबल एशोसिएशन (क्युएफए) बीच फूटबलको विकासमा सहयोग गर्नेसम्बन्धी सम्झौतामा आज हस्ताक्षर भएको छ । सम्झौता आगामी पाँच वर्षसम्मका लागि भएको एन्फाले जनाएको छ । 

दुवै राष्ट्रको फूटबल विकासका लागि एन्फा र क्युएफएको मुख्यालय दोहामा एन्फाका अध्यक्ष शेर्पा र क्युएफएका अध्यक्ष हमाद बिन खालिफा बिन अहमेद अलतानीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

सम्झौतानुसार दुई राष्ट्रबीचको विभिन्न विषयका लागि व्यवस्थापन टोली, प्राविधिक टोली, प्रशिक्षक, रेफ्री र खेलाडीको आदानप्रदान हुनेछ । त्यसैगरी फूटबलको अध्ययन, अनुसन्धान, महिला फूटबल, युवा फूटबल, फुटसललगायत १७ कार्यमा दुई मुलुकबीच सहकार्य हुने सम्झौतामा उल्लेख छ । 

कतार सन् २०२२ को विश्वकप आयोजक राष्ट्रसमेत हो । हाल कतारले विश्वकपका लागि फूटबल मैदान धमाधाम निर्माण गरिरहेको छ । सम्झौताका लागि एन्फा अध्यक्ष शेर्पा र लिग कमिटीका संयोजक विज्ञानराज शर्मा हाल दोहामा छन् । यसअघि एन्फाले जापान फूटबल एशोसिएशन (जेएफए)सँग सहकार्य गर्न सम्झौता गरिसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्