१७ असार २०८३, बुधबार

तालबाराही मन्दिरमा कोजाग्रत मेला, ५० हजारले गरे दर्शन

कात्तिक ७, २०७५
तालबाराही मन्दिरमा कोजाग्रत मेला, ५० हजारले गरे दर्शन

पोखरा– फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिरमा आज कोजाग्रत पूर्णिमा मेला लागेको छ । 

हातमा पूजाका सामग्री, निधारमा टीका र टाउँकामा जमरा लगाएका भक्तजन आज बिहानैदेखि तालबाराही मन्दिरमा दर्शन गर्नेको भीड लागेको थियो । 

तालबाराही मन्दिरको दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ कास्कीलगायत छिमेकी जिल्लाबाट दर्शनार्थी पोखरा आउने गरेका छन् । 

दशैँको टीका कोजाग्रत पूर्णिमादेखि सम्पन्न हुने भएकाले घटस्थापनाका दिन दशँैघर र कोतमा राखिएका जमरा फेवाताल किनारमा विसर्जन गर्ने प्रचलन छ । 

परापूर्वकालदेखि नै यहाँ कोजाग्रत पूर्णिमामा मेला लाग्ने गरेको छ । कोजाग्रत पूर्णिमाका अवसरमा तालबाराही मन्दिरमा पूजा गर्ने र महादीप बालेर जाग्राम बस्ने चलनसमेत रहँदै आएको छ । 

दर्शनका लागि फेवातालमा डुङ्गा चढेर मन्दिर जानेको दर्शनार्थीको बिहानैदेखि घुइँचो लागेको डुङ्गा व्यवसायी सङ्गठनका उपाध्यक्ष मङ्गल नेपाली बताउँछन् । 

उनका अनुसार बिहान ७ बजेदेखि दिउँसो ३ बजेसम्म लगभग ५० हजार भक्तजनले तालबाराही मन्दिरको दर्शन गरिसकेका छन् । दुई वटा जोडेर निर्माण गरिएका डुङ्गा ३५ वटाले श्रद्धालु भक्तजनलाई सेवा प्रदान गरेको जानकारी दिँदै उनले भने, “प्रतिव्यक्ति मन्दिर जाने र आउने गरी रु ६० टिकट दर कायम गरिएको छ ।” 

तालबाराही मन्दिरसहित विन्ध्यवासिनी, कास्की कालिका, भद्रकाली, अकला मन्दिरलगायतका विभिन्न शक्तिपीठमा दर्शन गरेर कोजाग्रत पूर्णिमाका दिन धनधान्यकी देवी महालक्ष्मीको पूजा आरधना गरी मनाउने चलन रहँदै आएकोछ । 

शुभकामना आदानप्रदान 

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिले विजयादशमी, दिपावली लगायतका पर्वका अवसरमा आज यहाँ शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । 

प्रदेश प्रमुख बाबुराम कुँवरले देशको राजनीतिक परिवर्तनसँगै प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताउँदै उहाँले संविधानतः प्राप्त उपलब्धि र जिम्मेवारीलाई आत्मसात् गरी अघि बढ्नुपर्ने धारणा राखे । 

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधानको सफल कार्यान्वयन वर्तमानको आवश्यकता भएको बताउँदै यस क्रममा देखिएका ढिलासुस्ती हटाउँदै अघि बढ्नुको विकल्प नभएको उल्लेख गरे । 

पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी, नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्का, समितिका सदस्य रामजीप्रसाद लम्साल लगायतले दशैँ, तिहार, छठ लगायतका चाडपर्वका अवसरमा शुभकामना व्यक्त गरेका थिए । 

salt training

कमेन्ट गर्नुहोस्