
काठमाडौं — अस्ट्रेलियाका व्यापारी तथा कन्जर्भेटिभ नेता क्लाइभ पामरले टाइटानिक जस्तै देखिने जहाज बनाउने भएका छन् । त्यसलाई टाइटानिक २ नाम दिइएको छ ।
तीन वर्षअघि पनि पामरले जहाज बनाउने घोषणा गरेका थिए तर पैसाको कमीका कारण परियोजना बीचैमा रोकेका थिए । पामरका अनुसार, टाइटानिक २ को भित्री साजसज्जा ओरिजिनल जहाजको जस्तै हुनेछ र यात्रीहरूलाई त्यतिखेरकै युगको आभास दिनेछ ।
पामर भन्छन्, ‘पहिलेको टाइटानिकले बेलायतको सदम्प्टनबाट न्युयोर्कसम्मको यात्रा गरेको थियो । हाम्रो जहाज पनि त्यस्तै यात्रामा जानेछ । टाइटानिक २ ले हरेक बन्दरगाहमा मानिसको ध्यान आकर्षित गर्नेछ । अहिले पनि लाखौं
मानिस टाइटानिकमा यात्रा गर्ने सपना देखिरहेका छन् र हामीहरू उनीहरूका सपनालाई पूरा गर्नेछौं ।’
पामरको कम्पनी ब्लुस्टार लाइनका अनुसार, जहाजको पहिलो यात्रा सन् २०२२ मा हुनेछ । निश्चित मितिको घोषणा अहिले गरिएको छैन ।
टाइटानिक २ बन्ने भएपछि आँधी चल्दा यसमा सुरक्षाको कस्तो प्रबन्ध मिलाइनेछ भनी मानिसहरूले सामाजिक सञ्जालमा प्रश्न गर्न थालेका छन् । कम्पनीले दुई हजार यात्रु र क्रूका लागि जहाजमा पर्याप्त लाइफबोटको व्यवस्था गरिने
बताएको छ ।
ओरिजिनल टाइटानिक सन् १९१२ को अप्रिल १५ मा उत्तरी आन्ध्र महासागरको न्युफाउन्डल्यान्डनजिक डुबेको थियो । एउटा ठूलो आईसबर्गमा ठोक्किएपछि जहाज डुबेको थियो । जहाजमा त्यतिखेर २२ सय ४० मानिस थिए र तीमध्ये
१५ सयभन्दा बढीको मृत्यु भएको थियो ।
एजेन्सी