२५ असार २०८३, बिहीबार

उपभोक्तालाई ठग्ने २७ फर्ममा सिलबन्दी

कात्तिक ९, २०७५
उपभोक्तालाई ठग्ने २७ फर्ममा सिलबन्दी
सन्दर्भ तस्वीर

काठमाडौँ– सरकारको अनुगमन टोलीले चालू आर्थिक वर्षको पहिलो तीन महिनामा व्यवसायी मर्यादाविपरीत काम गर्ने २७ वटा उत्पादन उद्योग तथा व्यावसायिक फर्ममा सिलबन्दी गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नेतृत्वमा चालू आर्थिक वर्षको तीन महिनामा गरेका ७४८ वटा व्यवसायी फर्ममध्ये २७ वटाले न्यूनतम मापदण्ड पालना नगरेको र उपभोक्ता ठगी गरेको पाइएपछि सिलबन्दी गरेको हो ।

यसरी सिलबन्दी गरिनेमा काठमाडौँको न्यूरोडको पिनटस्, जमलको द कोरियन, बानेश्वरको सङ्गम स्वीटलगायत २७ वटा व्यापारिक फर्म रहेका छन् । विभागका अनुगमन अधिकृत दीपक पोखरेलले सिलबन्दी गरिएकामध्ये अधिकांश पसलको अनुगमन गर्ने क्रममा पसल दर्ताको नवीकरण नभएको, सामान खरिदको बिलविजक दिन नसकेका व्यापारिक फर्ममा सिलबन्दी गरिएको उनीहरूले आवश्यक प्रमाण लिएर विभागमा उपस्थिति भएमा सिलबन्दी पुनः खोलिने जानकारी दिनुभयो । 

दशैँँताका अनुगमन गरेर सिलबन्दी गरिएका ठूला सपिङ महल द पिनटस् र द कोरियनले अहिलेसम्म आवश्यक प्रमाण जुटाउन नसकेको र आवश्यक प्रमाण लिएर स्वयम् सञ्चालन उपस्थिति नहुँदासम्म ती पसलको सिल नखुल्ने उहाँले बताउनुभयो । विभागको टोलीले गरेको अनुगमनका क्रममा कोरियन सप सञ्चालकले ५०० प्रतिशतसम्म बढी मूल्य लिएर सामान बिक्री गरेको पाइएको थियो भने पिनटस् सञ्चालकसँग सामान खरिद गरेका बिलविजक देखाउन नसकेको थिएन । 

पिनटस् र कोरियन सपले उपभोक्तासँग अत्यधिक मूल्य लिएको भन्ने उजुरीका क्रममा विभागले अनुगमन गरी सिलबन्दी गरिएको विभागका अनुगमन अधिकृत पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार ती पसलले खरिद मूल्यभन्दा अधिक नाफा राखेर बिक्री गरेको अनुगमनका क्रममा देखिएको थियो । 

अनुगमन अधिकृत पोखरेलले सरकारको अनुगमन व्यवसायी मर्यादामा रहेर व्यापार गर्ने व्यापारीलाई हामी सहयोग गर्ने र मन परी मूल्य लिएर उपभोक्ता ठग्ने, व्यवसायी मर्यादाविपरीत काम गर्ने व्यापारीलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नेमा केन्द्रित भएको बताउनुभयो । यता व्यवसाय सञ्चालकहरूले भने आफ्नो खरिद नै महँगो परेकाले महँगोमा बिक्री गर्नुपरेको दाबी गर्दै आएका छन् । 

विभागका अनुसार पछिल्लो तीन महिनामा देशभर ७४८ वटा व्यवसायी फर्मको अनुगमन गरिएकोमा १७४ उपत्यकाबाहिरका छन् भने उपत्यकामा मात्रै ५७४ वटा व्यावसायिक फर्मको अनुगमन गरिएको छ । सो अवधिमा चारवटा फर्मको कारोबार बन्द गरियो भने झण्डै नौ लाख बराबरका म्याद नाघेका सामान नष्ट गरिएको पनि विभागले जनाएको छ । 
सो अवधिमा अनुगमन गरिएका पसलमध्ये अधिकांशमा सामान्य सुधार गर्नुपर्ने भएकाले तत्काल सुधार गर्न निर्देशन दिएको अनुगमन अधिकृत पोखरेलले जानकारी दिनुभयो । 
यसैगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले मिठाईमा हाइड्रो–१ नामको रसायन मिसावट भएको फेला पारेपछि सङ्गम स्वीटलाई पनि सिलबन्दी गरेको थियो । अनुगमनका क्रममा सेतो कपडामा प्रयोग गरिने वस्तु नीर भएको प्रमाणित भएपछि स्वीटलाई बन्द गरेको जनाएको छ ।, गोरखापत्रमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्