२३ असार २०८३, मंगलबार

निजी जग्गा हडपेको आरोपमा वडाध्यक्षविरुद्ध उजुरी

कात्तिक १०, २०७५
निजी जग्गा हडपेको आरोपमा वडाध्यक्षविरुद्ध उजुरी

पर्वत-पर्वतक महाशीला गाउँपालिकाका–४ पाखापानीका वडाध्यक्ष पूर्णबहादुर मल्लसहितको समूहले गाउँका निजी जग्गा हडप्न खाजेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्वतमा उजुरी परेको छ । सोही वडाका स्थानीय बलबहादुर खत्रीले आफ्नो निजी जग्गा जबर्जस्ती हडपेको भन्दै वडाध्यक्ष मल्ल र सोही ठाउँका यामबहादुर भण्डारी विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराउनुभएको हो । 

महाशिला–४ साविक पाखापानी गाविस–४ चिहानडाँडास्ूिथत कित्ता नं १८७ को क्षेत्रफल एक रोपनी दुई आना एक पैसा दुई दामको आफ्नो जग्गामा मल्ल र भण्डारीले हडपेर डोजर लगाएको आरोप पीडित खत्रीको छ । गत कात्तिक ६ गते वडाध्यक्ष मल्ल र सोही स्थानका भण्डारीको अगुवाइमा आएको २०÷३० जनाको समूहले आफूले एकलौटी हकभोग गरेको जग्गामा बिना अनुमति डोजर प्रयोग गरेको खत्रीले बताउनुभयो । 

आफूलाई हातपात गर्न आएको समूहलाई छुटाउन खोज्ने आफ्नी जेठी छोरी लक्ष्मी खत्रीलाई समेत हातपात गरी तीन तोलाको सिक्री, नगद रु ४ हजार, कोदालो र एक तोलाको औँठी लुटेर लगेको खत्रीको आरोप छ । डोजर चलाउँदा मेरा छोराछोरीलाई तथानाम गाली गर्नुका साथै हातपात गरी खरबारीमा समेत आगो लगाइदिएको खत्रीले दर्ता गराएको उजुरीमा उल्लेख छ । उहाँले गाउँमा बस्न सक्ने अवस्था नरहेको भन्दै प्रशासनसँंग सुरक्षाको माग पनि गर्नुभएको छ । 

आफूमाथि उक्त घटनाको विषयलाई लिएर दैनिक धम्की आइरहेकाले खत्रीले सुरक्षाको माग गर्नुभएको हो । साथै उहाँले दोषीमाथि कारवाहीको माग गर्नुभएको छ । वडाध्यक्ष मल्ल र स्थानीयवासी भण्डारीविरुद्ध खत्रीले बिहीबार जिल्ला प्रशासनमा उजुरी दर्ता गराउनुभएको छ । यता वडाध्यक्ष मल्लले रासससँग कुराकानी गर्दै आफूले त्यस्तो नगरेको बताउनुभयो । “त्यहाँ बाटो पहिल्यै थियो, अहिले चक्लाबन्दी गर्ने क्रममा विवाद भएपछि आफूले बाटो खन्न रोकिएको छ”, उहाँले भन्नुभयो, “मैले कसैलाई केही गरेको छैन, प्रमाण भए मलाई कारवाही गरे हुन्छ ।” 

salt training

कमेन्ट गर्नुहोस्