
काठमाडौं – सरकारको नेतृत्व गरेको ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विभिन्न चाडपर्वलाई लक्षित गरेर शनिवार चियापान कार्यक्रम गरेको छ ।
काठमाडौंको भृकुटीमण्डपमा भएको चियापान कार्यक्रममा दिउँसोदेखि नेता, कार्यकर्ता र समर्थकको भीडभाड छ । चियापान भनेर आयोजना गरिएको कार्यक्रममा मिठाइ लगायतका खाजाका परिकार समेत बाँडिएको छ ।
भृकुटीमण्डपमा एक जना कार्यकर्ता समूहमा गफिँदै थिए, ‘चियापान भनेको मिठाइपान पो रहेछ !’ चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायत नेता कार्यकर्ताको सहभागिता रहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भने केहीबेरपछि चियापानमा सहभागिता जनाउने छन् । नेकपाको चियापानमा अन्य विभिन्न पार्टीका नेताको समेत सहभागिता रहेको छ । नेकपाले चियापानमा सबै पार्टीलाई निमन्त्रणा गरेको थियो ।
