
काठमाडौं – सरकारको नेतृत्व गरेको ठूलो दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नहुने भएका छन् ।
प्रधानमन्त्री ओली साँझतिर चियापानमा सहभागी हुने भनेर दिउँसोदेखि काठमाडौंको भृकुटीमण्डपमा कार्यक्रम चलिरहेको थियो । तर, ओलीले अन्तिममा आफू चियापान कार्यक्रममा नआउने खबर पठाएका छन् ।
स्वास्थ्य अवस्थाका कारण चिकित्सकले भीडभाडमा नजान सल्लाह दिएपछि प्रधानमन्त्री ओली कार्यक्रममा नआउने भएका जनाइएको छ । कार्यक्रममा सहभागी भएका नेता कार्यकर्ताले भने ओलीलाई कुरिरहेका थिए । तत्कालीन नेकपा एमाले र माअोवादी केन्द्रबीच एकीकरण भएपछि पहिलो पटक शनिवार चियापान कार्यक्रम आयोजना गरिएको हो ।
प्रधानमन्त्री ओलीको छातीमा संक्रमण भएका कारण चिकित्सकले भीडभाडमा नजान सल्लाह दिएको नेकपाका महासचिव विष्णु पौडेलले बताए ।
चियापान कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायत नेता कार्यकर्ताको सहभागिता रहेको छ ।
नेकपाको चियापानमा अन्य विभिन्न पार्टीका नेताको समेत सहभागिता रहेको छ । नेकपाले चियापानमा सबै पार्टीलाई निमन्त्रणा गरेको थियो ।