काठमाडौँ, १७ फागुन - उपत्यकाका केही ठूला क्याम्पसका निर्वाचन समितिले औपचारिक सूचना निकालेर स्वविवु चुनाव स्थगित गरिएको खबर नयाँ पत्रिकामा छ ।

पाटन संयुक्त क्याम्पसमा वैद्य र विप्लवनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र नयाँ शक्ति विद्यार्थी युनियनको तालाबन्दीका कारण चुनाव स्थगित भएको छ । निर्वाचन समितिले विद्यार्थी संगठनलाई छलफलका लागि सोमबार बिहान ८ बजे बोलाए पनि विद्यार्थीहरू सहभागी नभएपछि चुनावी कार्यक्रम अघि बढाउन नसकिएको क्याम्पसका निर्वाचन आयुक्त जगदीशचन्द्र भण्डारीले बताए । बागबजारस्थित पद्मकन्या क्याम्पसमा पनि चुनाव स्थगित भएको छ । चुनावी प्रक्रिया अघि बढेका वेला विद्यार्थी संगठनबीच झगडा भएपछि चुनाव स्थगित भएको हो ।
सोह्रखुट्टेस्थित सरस्वती बहुमुखी क्याम्पसमा पनि स्ववियु चुनाव स्थगित गरिएको छ । सो क्याम्पसमा बिबिएमका विद्यार्थीको मतदाता सूचीमा नाम नआएपछि विद्यार्थीको विरोधका कारण चुनाव स्थगित गरिएको हो । बानेश्वर बहुमुखी क्याम्पसमा पनि स्ववियु चुनाव स्थगित भएको छ । विद्यार्थी संगठनहरूले विभिन्न माग राख्दै क्याम्पसमा तालाबन्दी गरेपछि निर्वाचन प्रक्रिया अघि बढाउन नसकेर निर्वाचन समितिले सूचना निकाली चुनावका सम्पूर्ण प्रक्रिया स्थगित गरिएको जनाएको छ ।
यसअघि नेपाल ल क्याम्पसले पनि स्ववियु चनाव स्थगित गर्ने आइतबार निर्णय गरेको थियो । तर, सोमबार विद्यार्थी संगठनबीच चुनाव गर्ने सहमति भएमा क्याम्पस प्रशासन तयार रहेको जनाएको थियो । यसैबीच, त्रिवि केन्द्रीय, महेन्द्ररत्न, आरआर, विश्वभाषा, शंकरदेव, पब्लिक युथ, पशुपति बहुमुखी क्याम्पसलगायतमा तालाबन्दीका कारण उम्मेदवारी मनोनयन दर्तासमेत हुन सकेन ।