
काठमाडौं — श्रीलंकामा दुईजना नेताले आफू नै वैध प्रभानमन्त्री भएको दाबी गरेपछि देशमा संवैधानिक संकट छाएको छ ।
बहालवाला राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शुक्रवार राति अबेर प्रधानमन्त्री रनिल विक्रमसिंघेलाई बर्खास्त गरेको र उनको ठाउँमा पूर्वराष्ट्रपति महिन्दा राजापक्षेलाई प्रधानमन्त्री बनाएको घोषणा गरे ।
शनिवार सिरिसेनाले नोभेम्बरको मध्यसम्म संसद् निलम्बन गरेका छन् जसले गर्दा विक्रमसिंघेले उक्त निर्णयलाई चुनौती दिनका लागि इमर्जेन्सी भोट लिन पाउने नभएका छन् ।
विक्रमसिंघेलाई बर्खास्त गर्ने निर्णय स्तब्ध बनाउने खालको छ । उनलाई बर्खास्त गर्नका लागि निश्चित कानूनी कारण दिइएको छैन । तर मैत्रीपाला र विक्रमसिंघेबीचको महिनौंदेखिको शत्रुता त सार्वजनिक रूपमा नै देखिएको थियो ।
उनीहरू दुईजना फरक फरक दलका नेता हुन् र सन् २०१५ देखि गठबन्धन सरकार चलाएर बसेका छन् ।
राजापक्षेलाई सत्तामा फर्काउँदा श्रीलंकाले गृहयुद्धपछि गरेको प्रगतिमा प्रश्न उठ्ने देखिन्छ । राजापाक्षेले गृहयुद्ध अन्त्य गर्ने क्रममा चरम मानवअधिकार उल्लंघन गरेको आरोप छ । उनको कार्यकालमा भएको चरम भ्रष्टाचार र
मानवअधिकार उल्लंघनमा अनुसन्धान गर्नका लागि नागरिक समाज समूहहरूको उपस्थिति रहेकोमा त्यसलाई अब असर पर्ने देखिन्छ ।
‘धेरैजना मानिस, विशेषगरी तमिलहरू, ले विरोध कार्यक्रम आयोजना गर्ने हिम्मत गरेका थिए वा अनेकौं भ्रष्टाचार र फौजदारी मुद्दामा प्रत्यक्षदर्शी बन्ने साहस देखाएका थिए,’ नाम नबताउने शर्तमा एक मानवअधिकार कार्यकर्ताले बताए,
‘यी मानिसहरूले डराउनका लागि कारण भेटेका छन् ।’
श्रीलंकनहरूले यो राजनीतिक नाटकका बारेमा शुक्रवार राति थाहा पाए । टेलिभिजनमा कार्यक्रम चलिरहँदा राजापाक्षेले प्रधानमन्त्रीको शपथ लिएको लाइभ देखाउन थालियो ।
राजापाक्षेका समर्थकहरूले राजधानी कोलम्बोमा उत्सव मनाउन थाल्दा विक्रमसिंघेले टीभीबाट देखाइएको पत्रकार सम्मेलनमा आफूलाई बर्खास्त गर्ने निर्णय असंवैधानिक रहेको बताए ।
‘म तपाईंहरूलाई प्रधानमन्त्रीका रूपमा सम्बोधन गरिरहेको छु,’ उनले भने, ‘म प्रधानमन्त्री कायम छु र प्रधानमन्त्रीका रूपमा काम गरिरहनेछु ।’
द गार्डियनबाट