२८ जेठ २०८३, बिहीबार

सर्लाही गोलीकाण्ड : घटनास्थलमा अझै तनाव

कात्तिक १३, २०७५
सर्लाही गोलीकाण्ड : घटनास्थलमा अझै तनाव

सर्लाही –रामनगर गाउँपालिकामा मंगलवार बिहान नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा गोली लागेर एक जनाको मृत्यु भएको छ । 

गोली लागेर नेपाली कांग्रेसका कार्यकर्ता रामनगर गाउँपालिका–४ बहुअर्वाका ५५ वर्षीय रामविलास महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान ६ः३० बजे गोली प्रहारबाट महतोको आफ्नै घर अगाडि मृत्यु भएको कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्र सिंहले जानकारी दिए ।

गोलको छर्रा लागेर तथा झडपमा परेर सात जना घाइते भएका छन् । घाइते लिन पुगेको एम्बुलेन्समा समेत तोडफोड भएको छ । दश घरको खरले छाएको छानासमेत फुटाइएको छ । अन्य घाइतेको स्थानीयस्तरमा उपचार भइरहेको छ । 

सो स्थानमा सोमबार मात्रै कांग्रेसबाट निर्वाचित वडाध्यक्ष रामनरेश महतोमाथि आक्रमण भएको थियो । आक्रमणबाट वडाध्यक्ष महतोको टाउकामा गहिरो चोट लागेको तथा बायाँ खुट्टा भाँच्चिएको छ । 

आज बिहान गोली लागेर मृत्यु भएका रामविलास घाइते वडाध्यक्षकै काका हुन् । घटनास्थलमा अझै तनाव कायम रहेको प्रहरीले जनाएको छ ।

गोली चलेको ठाउँ आसपास अहिले व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले बताए । गोली प्रहार गर्ने व्यक्तिको पहिचान र खोजी गर्ने काम भइरहेको उनले बताए ।

कांग्रेस र नेकपाका कार्यकर्ताबीच विवाद हुँदा गोली चलेको बताइए पनि घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्