वीर बहादुर राना
जुम्ला - राराताल हेर्न जाने पर्यटकहरूको मूलद्वारका रूपमा रहेको सिँजा गाउँपालिकाले पर्यटन विकासका लागि विभिन्न पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिका अध्यक्ष देवल सिंह रावलले बताएका छन् ।
गाउँपालिकाभित्र रहेका विभिन्न मठ, मन्दिर र देवलहरूको पुनर्निर्माणमा गाउँपालिका जुटेको छ ।
सबै स्थानीयहरूको साथ र कर्मचारीहरूको सहयोगका कारण पनि गाउँपालिकालाई काम गर्न सहज भएको अध्यक्ष रावल बताउँछन् ।
पहिला स्थानीय व्यक्तिहरूले कानून नबुझ्दा केही समस्या रहेको भएपनि पछिल्लो समयमा सबैको सकारात्मक साथ रहेका कारण पनि काम गर्न र विभिन्न योजनाहरू तय गर्न सहज भएको रावलले लोकान्तरलाई बताए ।
सिँजा गाउँपालिकामा ३२ ओटा गाउँ रहेका छन् । तीनओटा गाविस मिलेर सिँजा गाउँपालिका बनेको हो । सबै गाउँलाई मोटरबाटोले छोएको छ । 
अध्यक्ष रावल भन्छन्, ‘शिक्षा विकासका लागि सबै ठाउँमा भवनहरू बनाइरहेका छांै । खस भाषाको उद्गम थलो पनि यही हो । खसभाषा पढाउने पाठ्यक्रम पनि गाउँपालिकाले तयार गर्दै भाषा संस्कृतिको जगेर्ना र कला संस्कृतिको जगेर्ना गर्ने कामलाई पनि गाउँपालिकाले अगाडि बढाएको छ ।’
‘अहिले गाउँपालिकाका सम्पूर्ण विद्यालयहरूमा सीसी क्यामरा र ईसेवामार्फत हाजिरीको व्यवस्था गरिएको छ जसले गर्दा शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउनमा मद्दत गरेको छ,’ उनी बताउँछन् ।
गाउँपालिकाको कुल बजेट १७ करोड रुपैयाँमा सबैभन्दा बढी बजेट शिक्षा र सडकमा छुट्टाएको अध्यक्ष रावलले बताए । स्वास्थ्य क्षेत्रमा पनि राम्रै बजेट छुट्ट्याइएको उनी बताउँछन् ।
प्रदेश सरकारले पुरातत्त्व विभागमा परेका विभिन्न मठमन्दिरको बजेट निकासा गर्दा आफ्नो गाउँपालिकालाई छुटाएकोमा चाहिँ उनले गुनासो गरेका छन् ।
गाउँपालिकामा शान्ति सुरक्षाको अवस्थामा केही कमीकमजोरी रहेको उनको भनाइ छ । ‘गाउँपालिकामा निरीक्षकको दरबन्दी हुनुपर्नेमा सईको नेतृत्वमा प्रहरी बसिरहको छ । पहाडी जिल्लामा विभिन्न पुरातात्त्विक मठमन्दिरमा
बहुमूल्य सामग्रीहरू रहने भएकाले चोरीशिकारी र जडीबुटीहरूको अवैध कारोबार हुने भएकाले पनि सुरक्षा निकाय सधैं चनाखो हुनुपर्छ,’ उनी भन्छन् ।
अहिले गाउँपालिकाको कार्यालय भाडामा रहेको र यहाँका स्थानीयहरूले गाउँपालिकालाई सहयोगस्वरूप जग्गा उपलब्ध गराएको उनी बताउँछन् । ‘अब हामी छिट्टै आफ्नै भवन निर्माणको काम अगाडि बढाउनेछौं,’ उनी भन्छन् ।
गाउँपालिकामा सबैभन्दा कम करको व्यवस्था गरिएको अध्यक्ष रावलको दाबी छ । पहाडी जिल्लाहरूमा सडक सञ्जालको पहुच नहुँदा भारी बोक्नुपर्ने हुन्छ तर यस गाउँपालिकामा सबै गाउँहरूमा सडक सञ्जालको पहुँच पुगेको
हुँदा गाउँपालिकालाई छिट्टै भारीमुक्त बनाउने योजनामा गाउँपालिका लागेको उनले बताए ।