
काठमाडौं — मेक्सिकोलाई प्रदूषणरहित बनाउनका लागि विभिन्न प्रयास गरिएको छ । यो परियोजनाको नाम वाया वर्दे राखिएको छ र यसअन्तर्गत फ्लाईओभरको भित्तामा ठाडो बगैंचा बनाइएको छ ।
बगैंचाको उद्देश्य मानिसहरूका लागि धेरै अक्सिजन निकालेर शहरको वातावरण ताजा पार्नु हो ।
मेक्सिको सिटीलाई धूलो र धूँवाले विरूप पारेर त्यहाँ सासै फेर्न गाह्रो परिरहेकोले हरियाली बढाउन यो प्रयास गरिएको हो ।
वातावरणमा काम गर्ने लीगा पेटोनलका सार्वजनिक स्वास्थ्य संयोजक सर्जियो अन्द्रादे ओचोआका अनुसार, मेक्सिको शहरमा कारको संख्या बढ्दै जाँदा प्रदूषण बढिरहेको छ । आफूहरूले रुख रोप्न खोजेपनि सरकारले एकदमै कम ठाउँ खाली राखेको उनले बताए ।
वाया वेर्दे परियोजनाको विचार एक आर्किटेक्ट फर्नान्डो ओर्डिज मोनासतेरियोले दिएका हुन् । उनको संस्था भर्दे भर्टिकलले मानिसहरूको समर्थन प्राप्त गर्नका लागि चेन्ज डट् ओआरजीको पेटिसन पनि चलाए । यो योजना सफल
भएमा मेक्सिको सिटीमा थप २५ हजार मानिसका लागि अक्सिजन उत्पन्न हुने पेटिसनमा लेखिएको थियो ।
भित्तामा ठाडो बगैंचा बनाउँदा आर्किटेक्ट मोनासतेरियो खुशी छन् । आफू एक पूँजीवादी वातावरणविज्ञ भएको र आफूहरूले काम सही रूपमा गरेको उनको भनाइ छ ।
उता लिगा पेटोनल एनजीओले परियोजना अफिल भएको टिप्पणी गरेको छ । हुआँ म्यानुएल बर्डेजा र ओचोआले वायुको गुणस्तर सुधार्नु र जलवायु परिवर्तन रोक्नु फरक फरक कुरा भएको बताए । ‘परियोजनामार्फत सरकारको
पाखण्ड झल्किएको थियो । शहरभित्र गार्डन बनाउनका लागि तीन हजारभन्दा बढी रुख काटियो ।’
एजेन्सी