
काठमाडौं –प्रदेश नम्बर तीनका मुख्यमन्त्री डोरमणि पौडेलको बर्खास्तगीमा परेका भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितले मुख्यमन्त्रीसँगको विवाद गरेका कारण आफ्नो मन्त्री पद खोसिएको बताएका छन् ।
संविधानको धारा १६९ को उपधारा २ (ख) अनुसार स्थापितलाई हटाइएको जानकारी मुख्यमन्त्रीको कार्यालयले प्रदेश प्रमुख अनुराधा कोइरालाई गराएको छ । तर बर्खास्तगीमा परेको औपचारिक जानकारी आफूले नपाएको स्थापितले लोकान्तरलाई बताए ।
‘अहिलेसम्म मलाई त्यो (बर्खास्त) भएको थाहा छैन, तपाईं जस्तै पत्रकारले सोधेपछि मात्र थाहा पाएको हुँ,’ स्थापितले लोकान्तरसँग भने, ‘यदि हो रहेछ भने मुख्यमन्त्रीसँगको कन्फ्ल्क्टि कारण मेरो पद गएको हो ।’
मन्त्रीका रूपमा स्थापितको काममा मुख्यमन्त्री पौडेल सन्तुष्ट थिएनन् । ‘उहाँले जिरो पर्फर्मेन्स भयो तपाईंको भन्नुभयो,’ स्थापितले भने, ‘म अहिले पनि चुनौती दिन्छु म हन्ड्रेड पर्सेन्टमा छु ।’
‘केही दिनमा साढे ४ अर्बको टेन्डर आह्वन हुँदै थियो, त्यसपछि कामले गति लिन्थ्यो काम हुने थियो,’ स्थापितले भने ।
मुख्यमन्त्रीसँग विवाद भएसँगै आफू बिरामी अवस्थामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अस्पताल पुगेपनि भेट हुन नसकेको स्थापितले बताए ।
राजनीतिमा दुःख-सुखको कुरा नहुने भन्दै उनले कहिले काहीँ यस्तो पनि हुँदो रहेछ भन्ने प्रतिक्रिया दिए । आफूलाई बर्खास्त गरिएको रहेछ भने पनि त्यसलाई सहजै स्वीकार गर्ने र राजनीतिक रूपमा छलफल गर्दै अगाडि बढ्ने उनको प्रतिक्रिया छ ।
पछिल्लो समय स्थापित अर्को एक विषयमा पनि विवादित छन् । काठमाडौं महानगरपालिकाकी पूर्व कर्मचारी रश्मिला प्रजापतिले स्थापितले आफूलाई यौन दुर्व्यवहार गरेको आरोप लगाएकी छन् ।
आफूमाथि भएको दुर्व्यवहारविरुद्ध विश्वभरका महिलाहरूले प्रयोग गरेको ट्वीटर ह्यास ट्याग #MeToo मार्फत् प्रजापतिले काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर स्थापितले आफूमाथि गरेको दुर्व्यवहारबारे अभिव्यक्ति सार्वजनिक गरेकी थिइन् ।
यो विषयलाई स्थापितले अस्विकार गर्दै आएका छन् । मन्त्री पद जानुमा यो पनि एक कारण हो ? भन्ने प्रश्नमा स्थापितले भने, 'होइन, होइन ।'