काठमाडौं १७ फागुन - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी बर्षको जेठ मसान्तसम्ममा देशभर विद्युत आपूर्ति कटौती –लोडसेडिङ) अन्त्य गर्ने घोषणा गरेका छन् । काठमाडौं उपत्यका लगायत देशका विभिन्न शहर लोडसेडिङ मुक्त घोषणा हुनु अध्यारोबाट उज्यालो युगको शुरुवातको लक्षण भएको उनको दावी थियो ।

मंगलवार साझ देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले लोडसेडिङ अन्त्यलाई जनताले चमत्कार जस्तै मानेका बताए । ‘लोडसेडिङ अन्त्यलाई जनताले चमत्कार जस्तै मानेका छन, यो शुरुवात मात्रै हो । एकाध बर्षमा देशको मुहार फेरिने छ’ प्रचण्डले भने ‘जनतामा काम गरे हुदो रहेछ सकारात्मक सन्देश प्रवाह भएको छ । परिवर्तन सम्भव छ भन्ने सन्देश फैलिएको छ ।’
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाको काम तीब्र गतिमा अगाडि बढिरहेको उल्लेख गरे ।