१२ असार २०८३, शुक्रबार

दुर्घटना : ११ वर्षमा २० हजारको मृत्यु, तिहारमा कार्यालय नछाड्न प्राधिकरणको निर्देशन

कात्तिक २०, २०७५
दुर्घटना : ११ वर्षमा २० हजारको मृत्यु, तिहारमा कार्यालय नछाड्न प्राधिकरणको निर्देशन

काठमाडौं– नेपालको यातायात सुरक्षित छैन, हवाई होस् अथवा सडक । भौगोलिक जटिलता, प्राविधिक गडबडी र मानवीय त्रुटिले हवाई दुर्घटना हुँदा अमूल्य ज्यान गइरहेको छ । तर, हवाई दुर्घटना हुँदा कम्तीमा छानबिन समिति बन्छ । यद्यपि, त्यसको सिफारिस कार्यान्वयन हुँदैन । तर, सडक दुर्घटनामा त बिरलै छानबिन समिति बन्छन् र त्यसका प्रतिवेदन अलपत्र पर्छन् ।

नेपाल प्रहरीका पूर्वमहानिरीक्षक कुवेरसिंह रानाको नेतृत्वमा ११ असोज ०७३ मा एक समिति बनेको थियो । सरकारले यो समितिलाई पूर्वगृहमन्त्री माधव घिमिरेको दुर्घटनाको कारण पत्ता लगाउन, पृथ्वी राजमार्ग र मुग्लिन–नारायणगढ सडक क्षेत्रमा सुरक्षित सवारी आवागमन र देशभर दुर्घटना न्यूनीकरणका उपायको सुझाब ल्याउन कार्यादेश दिएको थियो । समितिले नौबिसे–मुग्लिन र मुग्लिन–नारायणगढ सडकमा सबैभन्दा बढी दुर्घटना हुने गरेको प्रतिवेदन बुझाएको थियो ।

०७१/७२ मा मात्रै यी सडकखण्डमा एक सय २८ दुर्घटना भएको र एक सय एकजनाको ज्यान गएको प्रतिवेदनको तथ्यांक छ । राना समितिले ०६८/६९ देखि मापसे गरेर सवारी चलाउनेविरुद्ध राष्ट्रव्यापी अभियान चलाएपछि दुर्घटनामा तुलनात्मक कमी आए पनि ०७१/७२–०७३/७४ मा दुर्घटना ९.५५ ले वृद्धि भएको प्रतिवेदन तयार पारेको थियो । सवारीसाधनको संख्यामा वृद्धि र ग्रामीण सडक विस्तारले दुर्घटना बढेको ठहर गरेको थियो ।

समितिले चालक, पैदलयात्री र सवारीसाधनमा यात्रारत यात्रीमा सडक प्रयोगसम्बन्धी ऐन–नियमको जानकारीको अभाव, जानकारी भए पनि उल्लंघन गर्ने प्रवृत्तिका कारण दुर्घटना बढेको जनाएको छ ।

पछिल्ला ११ वर्षमा भएका सवारी दुर्घटनामा २० हजारभन्दा धेरैको ज्यान गएको छ । यो अवधिमा झन्डै एक लाख दुर्घटना भएका छन् । आर्थिक वर्ष ०६४/६५ देखि ०७४/७५ सम्म भएका ९१ हजार ८ सय ५७ सवारी दुर्घटनामा २० हजार १ सय ७७ व्यक्तिले ज्यान गुमाएका हुन् ।

११ वर्षमा भएका सवारी दुर्घटनाका तथ्यांकले प्रत्येक दिन औसत ५ व्यक्तिको ज्यान जाने गरेको देखाउँछ । औसतमा वर्षमा एक हजार आठ सयभन्दा धेरैको ज्यान जान्छ । यो संख्या प्राकृतिक विपद्बाट मृत्यु हुने संख्याभन्दा झन्डै दुईगुणा बढी हो । तथ्यांकअनुसार प्राकृतिक विपद्मा परी वर्षमा औसत नौ सयको ज्यान जाने गरेको छ ।, नयाँ पत्रिकामा खबर छ ।

जिप दुर्घटनामा १० जनाको मृत्यु 
डोल्पामा सोमबार भएको जिप दुर्घटनामा मृत्यु भएका १० जनाको सनाखत भएको छ  । सदरमुकाम दुनैबाट त्रिपुरासुन्दरी नगरपालिकाका लागि छुटेको भे१च १६१० नम्बरको जिप कालागौंडाबाट भेरी नदीमा खस्दा १० जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटका ४५ वर्षीय हेमराज हमाल, १८ वर्षीया लक्ष्मी रोकाय, ६२ वर्षीय नरसिँह कठायत, २५ वर्षीय शेरबहादुर थापा, सोही नगरपालिका–२ की १३ वर्षीया अस्मिता रोकाय, सोही नगरपालिका–३ का ४५ वर्षीय बुध धराला, २४ वर्षीय कुमार रोकाय, सोही नगरपालिका–५ का १२ वर्षीय याम रोकाय, ठूलीभेरी नगरपालिका–५ का ३० वर्षीय भद्र रोकाय र १७ वर्षीया मनिषा धराला रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अभदेश बिष्टले जानकारी दिए । 

घाइते हुनेमा त्रिपुरासुन्दरी नगरपालिका–२ का नन्दबहादुर थापा र सोही नगरपालिका–३ का चालक दिनेश बोहरा रहेका छन् । घाइते बोहराको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइते दुवैको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । सबै शव परीक्षण गरेर मंगलबार आफन्तलाई बुझाइने छ । 

दिल्लीबाट ४० नेपाली महिलाको उद्धार 
भारतको दिल्लीमा अलपत्र परेका ४० नेपाली महिलालाई उद्धार गरी स्वदेश ल्याइएको छ । खाडी मुलुकमा रोजगारीका लागि जानेक्रममा दिल्लीमा अलपत्र परेका ३७  र दिल्लीस्थित कोठीमा बेचिएका तीन नेपाली महिलालाई उद्धार गरी स्वदेश ल्याइएको हो ।

गाजियावादको इन्द्रपुरममा अलपत्र परेका ३७ महिलालाई भारतीय प्रहरीको सहयोग तथा दिल्लीस्थित नेपाली राजदूतावासको समन्वयमा माइती नेपाल र माइती इण्डियाले यही कात्तिक ६ र ७ गते उद्धार गरेको थियो । उनीहरूलाई आवश्यक परामर्शपछि पारिवारिक पुनःस्थापनाका लागि सोमबार नेपालगञ्ज ल्याइएको माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले जानकारी दिए । उद्धार गरिएकामा झापाका सबैभन्दा धेरै १० जना रहेका छन् । 

सर्वोच्च अदालतमा जनशक्ति अभाव
सर्वोच्च अदालतमा कर्मचारी र न्यायाधीश अभावले न्याय सम्पादन प्रभावित भएको छ । पहिलेभन्दा दोब्बर बढी मुद्दा पर्ने र नयाँ संहिताअनुसार कार्य सम्पादन गर्नुपर्ने भएको हुँदा कर्मचारी र न्यायाधीश अभावले न्याय सम्पादन प्रभावित भएको हो ।

तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की र गोपालप्रसाद पराजुलीको पदावधि सकिएपछि थप न्यायाधीश नियुक्त हुन सकेका छैन । संविधानमा २१ जना न्यायाधीश हुने उल्लेख भए पनि अहिले १९ जना न्यायाधीश रहेका छन् । दुई जना न्यायाधीश रिक्त भएपछि न्यायपरिषद्ले न्यायाधीश नियुक्ति प्रक्रिया शुरु गर्ने भएको छ ।  

न्याय परिषद्का सचिव नृपध्वज निरौलाले चाँडै नै रिक्त न्यायाधीश नियुक्त प्रक्रिया शुरु गर्ने जानकारी गराए । सर्वोच्चका सहरजिष्ट्रार लालबहादुर कुँवरले अदालतमा नयाँ मुलुकी फौजदारी र देवानी संहिता ऐनअनुसार न्यायाधीश र कर्मचारी अभावले न्याय सम्पादनमा प्रभावित बनेको बताए ।

आज कुकुर तिहार
नेपालीको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घरघरमा सुरक्षा गर्ने कुकुरलाई मीठामीठा खानेकुरा खान दिएर मनाइँदैछ । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । 

बैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । आज बिहानै अरुणोदय कालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधिसमेत रहेको गौतमले बताए ।

विमानस्थल स्तरोन्नतिका लागि सम्झौता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको स्तरोन्नति अर्थात पुर्नसुधारको काम अघि बढेको छ । धावनमार्ग स्तरोन्नतिको जिम्मा पाएको चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जीनियरिङ कर्पाेरेसनसँग सोमबार निर्माण सम्झौता भएसँगै विमानस्थल निर्माणको बाटो खुलेको हो । 
    
चिनियाँ निर्माण कम्पनीसँग करबाहेक रु तीन अर्ब ७५ करोड धावनमार्ग कालोपत्र परिवर्तनका लागि सम्झौता हुन लागेको क्यानले जनाएको छ । सन् १९८० मा निर्माण भएको धावनमार्ग अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको छैन । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण इतिहासमा पहिलो पटक धावनमार्ग पुर्नसुधार गर्न लागिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । धावन मार्ग स्तरोन्नतिको काम शुरु हुनुअघि आवश्यक तयारीका लागि पाँच महीनाको समय दिइएको छ । 

क्यानको योजनाअनुसार आगामी अप्रिल १ तारीखबाट धावनमार्ग स्तरोन्नतिको काम शुरु हुनेछ । कम्पनीले पहिलो चरणमा तीन हजार मिटरको धावनमार्गको कालोपत्र परिवर्तन गर्नुपर्नेछ । दैनिक ८० मिटरका दरले मिलिङ मेशिनको साथमा राति धावनमार्ग बनाइनेछ । यो क्रममा दैनिक १० घण्टा (राति १० बजेदेखि बिहान ८ बजेसम्म) बन्द हुनेछ ।

कर्मचारीका कारण उपलब्धी गुम्ने खतराः प्रचण्ड
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आन्दोलन र लामो राजनीतिक संघर्षबाट आएका नेताहरु पनि कर्मचारीजस्तै भइदिने समस्या रहेको बताएका छन् । विराटनगरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक परिवर्तनका लागि ठूला–ठूला संघर्ष भए पनि पुरानो सोचको कर्मचारी तन्त्रका कारण आन्दोलन र संघर्षको उपलब्धि गुम्ने गरेको बताए । 

नेताहरु कर्मचारीजस्तै बन्न जाँदा आन्दोलनका उपलब्धि गुम्ने गरेको प्रचण्डको भनाइ थियो । यसअघि विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले अबको केही महिना भित्र सरकारको काम कारवाहीले गती लिने दाबी गरे । सरकारको गति बढाउन मन्त्रिमण्डलमा हेरफेर नहुने उनको भनाइ छ ।

घुस लिएको अभियोगमा लेखापाल पक्राउ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाठ्यक्रम विकास केन्द्र भक्तपुरका लेखापाल गुणराज दाहालले रु २५ हजार घुस लिएको अभियोगमा सोमबार पक्राउ गरेको छ । लेखापाल दाहाललाई राष्ट्रिय बहिरा महासङ्घ नेपाललाई कक्षा ६ को सामाजिक र विज्ञान विषयको पाठलाई साङ्केतीकरण र दृश्य सामग्री तयार गर्ने सम्झौता गरेकामा उक्त कार्य पूरा गरी बिल भुक्तानी माग गर्दा घुस मागेको अभियोग लागेको छ ।

यस्तै आयोगले जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक नीरबहादुर अधिकारीको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

स्क्रबटाइफस र डेंगुको सङ्क्रमण 
देशका विभिन्न जिल्लामा डेंगु र स्क्रबटाइफस रोगको सङ्क्रमण फेला परेको छ । सन्ताउन्न जिल्लामा स्क्रबटाइफस र २७ जिल्लामा डेंगु देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सन् २०१८ को जनावरीदेखि अक्टोबरसम्मको तथ्याङ्कमा २७ जिल्लाका २२९ जनामा डेंगु रोग फेला परेको छ । उक्त अवधिमा ७७० जनामा स्क्रबटाइफसको सङ्क्रमण भएको पाइएको छ । एक वर्षको अन्तरालमा मकवानपुरका एक जना बिरामीको डेंगुबाट मृत्यु भएको छ भने स्क्रबटाइफसबाट गुल्मीका एकको मृत्यु भएको महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक घनश्याम पोखरेलले जानकारी दिए ।

नेपालमा सबैभन्दा बढी कास्की जिल्लामा मात्रै १०९ जनामा डेंगुको सङ्क्रमण भेटिएको पोखरेलले जानकारी दिए । विभिन्न जिल्लाबाट हालसम्म महाशाखामा प्राप्त प्रतिवेदनअनुसार कर्णाली प्रदेशबाहेक अरु छ वटै प्रदेशमा डेंगु देखिएको छ । 

माथिल्लो तामाकोशीको शेयरमा छ अर्बको आवेदन 
माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयरमा रु छ अर्ब बढीको आवेदन परेको छ । यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो कम्पनीको साधारण शेयरमा सोमबार साँझसम्म रु छ अर्ब बराबरको आवेदन परेको हो । अन्तिम विवरण भने मङ्गलबार प्राप्त हुने कम्पनीले जनाएको छ । 

बैंक तथा वित्तीय संस्थामा बुझाइएका आवेदन फारम तथा आश्वा प्रणालीको समेत अन्तिम विवरण आउन बाँकी भएकाले केही रकम भने बढ्न सक्ने देखिएको छ । कूल पूँजीको १५ प्रतिशत साधारण शेयर कम्पनीले बिक्री गरेको हो । निजी क्षेत्रका जलविद्युत् कम्पनीको साधारण शेयर बिक्न समस्या परिरहेका बेला माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा नागरिकको उल्लेख्य सहभागिता देखिएको हो । 

अवकाश प्राप्त वन अधिकृतविरुद्ध मुद्दा दायर 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवकाश प्राप्त सहायक वन अधिकृत विनोदकुमार सिंहले अनाधिकृतरुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार आरोपी सिंहको रु तीन करोड ५१ लाख ८२ हजार ६४४ बराबरको सम्पत्तिमा रु रु एक करोड ६० लाख २१ हजार १८ वैध देखिएको छ ।

सरकारी सेवामा रहँदा आरोपी सिंहले रु एक करोड ९१ लाख ६१ हजार ६२५ बराबरको सम्पत्तिको स्रोत नखुलेको पाइएको आयोगले दाबी गरेको छ । 

वामपन्थी नेता पद्मरत्न तुलाधरको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
वामपन्थी नेता पद्मरत्न तुलाधरको राजकीय सम्मानका साथ सोमबार कर्णदीपमा अन्त्येष्टि गरिएको छ । स्व तुलाधरको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर पुष्पगुच्छा चढाई सम्मान गरे । 

यसअघि तुलाधर निवास लाजिम्पाटबाट नेवारी परम्पराअनुसार स्व तुलाधरको शवयात्रा गरिएको थियो । विसं १९९७ मा काठमाडौँमा जन्मिएका तुलाधरको गत कात्तिक ९ गते मस्तिष्कघात भएपछि माइतीघर मण्डलास्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । थप उपचारका लागि कात्तिक १३ गते उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा आइतबार दिउँसो १२ः४५ बजे उनको निधन भएको थियो । 

उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्दप्र्रसाद अधिकारी, नेकपाका नेता बामदेव गौतम र नारायणकाजी श्रेष्ठलगायत शोभाभगवतीस्थित कर्णदीपमा स्व तुलाधरप्रति श्रद्धासुमन अर्पण गरे ।

तिहारमा कार्यालय नछाड्न प्राधिकरणको निर्देशन
तिहारमा कुनै पनि घरमा अँध्यारो नहोस् भन्ने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले सो अवधिमा विद्युत् केन्द्रका कर्मचारीलाई कार्यालय नछाड्न निर्देशन दिएको छ ।     नेपालीको महत्वपूर्ण चाडको समयमा अन्य कर्मचारीलाई निमित्त दिइ विद्युत् उत्पादन केन्द्रका प्रमुख तथा जिम्मेवार पदाधिकारी र प्राविधिक कर्मचारी नबस्ने गरेको पाइएकाले कार्यालय नछाड्न आज निर्देशन दिइएको हो । 

राष्ट्रिय विद्युत् प्रणालीमा ठूला आयोजनाको महत्वपूर्ण भूमिका हुने भएकाले सबै विद्युत् उत्पादन केन्द्र प्रमुखले संवेदनशील भई कार्यसम्पादन गर्न प्राधिकरणले निर्देशन जारी गरेको छ । 

सूर्यविनायकमा छ्याप्छ्याप्ती अखाद्य मिठाइ 
तिहार शुरु भएपछि सूर्यविनायक नगरपालिकाले आफ्नो नगर क्षेत्रमा गरेको मिठाई पसल अनुगमनका क्रममा ९० प्रतिशत मिठाई भण्डारमा अखाद्य मिठाइ बिक्री गरिरहेको पाइएको छ । सोमबार गरेको अनुगमनमा अनुगमन टोलीले अखाद्य वस्तु मिसाएर बनाएको, ढुसी आएको, बिग्रिएको र पुरानो मिठाई तथा मिठाई बनाउँन प्रयोग हुने तेल भारी मात्रामा नष्ट गरेको छ । 

अनुगमनका क्रममा सृजना नगरस्थित कन्हैया स्विट एण्ड चाट हाउस, सल्लाघारीको गणपति स्विट हाउस, लक्ष्मी स्विट एण्ड चाट हाउस, सूर्यविनायकको गणेश मिठाई भण्डार, सूर्यविनायक मिठाई भण्डार, पाण्डुबजारको जय माता दी स्विट एण्ड चाट हाउसमा अखाद्य वस्तु मिसाएर मिठाई बनाएको पाइएको हो । 

कराते च्याम्पियनसिपका लागि खेलाडी छनोट
इण्डोनेशियामा हुने १५औँ एशिया प्रशान्त सितोरियो कराते च्याम्पियनसिपका लागि नेपालबाट पाँच पुरुष र चार महिला गरी नौ खेलाडी छनोट भएका छन् । नेपाल सितोरियो कराते सङ्घले आयोजना गरेको छनोट प्रतियोगिताबाट आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडी च्याम्पियनसिपका लागि छनोट भएको राष्ट्रिय रेफ्री संयोजक राजेन्द्र कपालीले जानकारी दिए । 

उक्त प्रतियोगिता इण्डोनेशियाको जकार्तामा आगामी मङ्सिर ५ देखि ९ गतेसम्म हुँदैछ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकूद परिसरमा सोमबार  भएको प्रतियोगिताको पुरुष एकल कातामा नेपाली सेनाका पर्शुराम बाँस्तोला पहिलो भए । महिला एकल कातामा प्रहरीकी चञ्चला दनुवारले आर्मीकी रिना श्रेष्ठलाई पराजित गर्दै छनोट हुन सफल भइन् । महिला ५० केजीमुनि सेनाकी कुसुम खड्का पहिलो भइन् । 

salt training

कमेन्ट गर्नुहोस्