
सुर्खेत– पञ्चपुरी नगरपालिका वडा नं. ६ बाबीयाचौरका वादी समुदायले आफूहरुको पुख्र्यौली पेशा धरापमा पर्न लागेको गुनासो गरेका छन् । तिहार आइसक्दा आफूहरुले बनाएको मादलले भने अनुसारको मूल्य नपाउने र त्यसले आफूहरुको तिहार पर्वमा सोझै असर गर्ने गरेको उनीहरुको भनाई छ ।
‘हामीले विगतमा धेरै मादल विक्री गर्ने र त्यहि आम्दानीबाट तिहार मनाउने गरेका थियौं ।’ स्थानीय झल्के वादीले लोकान्तरसँग भने, ‘तर अहिले बजारमा आएका सस्ता मादलले हाम्रो व्यवसायलाई चौपट पारिदिएको छ । हामीले बनाएका मादलहरु मंहगो भएको भन्दै खरिद गर्न आनाकानी गरिरहेका छन् ।’
उनले आफूहरुको मादल बनाउने पेशामा समेत संकट आइलागेको गुनासो गरे । ‘हामीसँग न त पर्याप्त जग्गा छ न त जमिन नै छ ।’ उनले भने, ‘हाम्रो पेशासमेत लोप हुने अवस्थामा पुगेको छ । स्थानीय सरकारले अन्य जीविकोपार्जन सम्वन्धी तालिम दिनुपर्ने पर्छ।’ अहिले उनीसँग १६ ओटा मादल विक्रीका लागि तयारी अवस्थामा रहेका छन् ।
अनिसा वादीले मादलको साइजअनुसार मूल्य कायम गरिएको बताइन् । ‘हामीले बनाएका मादलहरूको मूल्य मादलको साइजअनुसार राखेका छौं ।’ उनले भनिन्, ‘कम्तिमा २ हजारदेखी बढीमा र पाँच हजारसम्ममा हामीले मादल बेच्ने गरेका छौं ।’ उनले आफूसँग १२ ओटा मादल रहेको र त्यो मादल विक्री भएपछि त्यहि पैसाले तिहार मनाउने योजना रहेको सुनाइन् ।
‘अन्य आयस्रोत केहि छैन ।’ उनले भनिन्, ‘मादल बेचेको पैसाले तिहार मनाउने छौं । तर विक्री हुन्छ कि हुँदैन भन्ने चिन्ता छ।’ उनले वादी समुदायको सीप, कलालाई सरकारले संरक्षण गर्नुपर्ने बताइन् । ‘हाम्रो कला र सीपलाई सरकारले संरक्षण तथा प्रर्वद्धन गर्नुपर्ने थियो ।’ उनले भनिन्, ‘तर सरकारले पहल नगर्दा हाम्रो पुख्र्यौली पेशा नै धरापमा परेको छ ।’