
काठमाडौं– काठमाडौंका विभिन्न ठाउँमा नक्कली सुनलाई सक्कली सुन भनेर बिक्री गर्ने गिरोहका ३ जना पक्राउ परेका छन् ।
३५ लाख रुपैयाँमा एक किलो सुन बिक्री गर्न लागिएको सूचनाका आधारमा खोजी गर्दा महानगरीय अपराध महाशाखाको टोलीले नक्कली सुन बिक्री गर्ने गिरोहका सदस्यलाई पक्राउ गरेको हो ।
प्रचलित बजार भाउभन्दा सस्तोमा १ किलो सुन बिक्री गर्न लागेका उनीहरुलाई प्रहरीले पछ्याएको थियो । पछि उनीहरुको साथमा रहेको पहँले बस्तु नक्कली सुन रहेको फेला परेपछि प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–१ का २४ वर्षीय राजेन्द्र तामाङ, सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका ३५ वर्षीय राजु लामा र काभ्रेको रोशी गाउँपालिका घर भएका ३६ वर्षीय राज कुमार तामाङ छन् । प्रहरीले उनीहरुको साथबाट सुनजस्तो देखिने पहेँलो धातुको १ किलोग्राम तौल भएको (बिस्कुट) समेत बरामद गरेको छ ।
प्रहरीका अनुसार उनीहरुले यसअघि पनि नक्कली सुन बेच्दै आएका थिए ।