
काठमाडौं –पोखरा प्रिमियर लिग (पीपीएल)को उपाधि घरेलु टोली पोखरा पल्टनले जितेको छ । मंगलवार सम्पन्न फाइनल भिडन्तमा शरद भेसवाकर नेतृत्वको पोखरा ३ विकेटले विजयी भयो ।
पारस खड्का नेतृत्वको चितवन राइनोजले पेश गरेको १ सय ६१ रनको चुनौती पोखराले १९ ओभर २ बलमा ७ विकेटमा पूरा गर्यो ।
पोखराको जीतमा रवि इन्दर सिंहले सर्वाधिक ९० रनको योगदान गरे । उनका अलावा मोहम्मद नभीदले २५ तथा सरद भेसवाकरले २२ रनको योगदान गरे ।
चितवनका लागि भुवन कार्कीले २ तथा करण केसी, सन्नी पटेल र पारस खड्काले १-१ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ५ विकेट गुमाएर १ सय ६० रन जोडेको थियो ।
उसका लागि कप्तान पारस खड्काले ५१, सन्नी पटेलले ४३, अनिल साहले ३७, आरिफ शेखले १४ तथा हरिशंकर साहले ८ रनको योगदान गरे ।
पोखराका लागि कृष्ण कार्कीले २ तथा ललित राजवंशी र मोहम्मद नभीदले १-१ विकेट लिए ।