
काठमाडौं — अमेरिकामा मंगलवार सम्पन्न मध्यावधि निर्वाचनमा मेरिल्यान्ड राज्यको संसदमा नेपाली मूलका एक व्यक्ति विजयी भएका छन् ।
ह्यारी भण्डारीले मेरिल्यान्ड राज्यको डिस्ट्रिक्ट ८ मा डेमोक्रेट पार्टीका तर्फबाट विजय हासिल गरेका हुन् । उनले कुल २० हजार ९७७ मत ल्याएका हुन् ।
पर्वत मूल घर भएका भण्डारी १५ वर्षअघि अमेरिका पुगेका हुन् । उनी मेरिल्यान्डमा हाईस्कूल शिक्षकका रूपमा कार्यरत छन् ।
भण्डारीले जोन्स हप्किन्स विश्वविद्यालयबाट विद्यावारिधि पूरा गरेका हुन् ।
‘नेपाली मूलका भण्डारीको विजयबाट अमेरिकी राजनीतिमा नयाँ इतिहास कोरिएको छ,’ भण्डारीका राजनीतिक सहयोगी सुकुराम तामाङले लोकान्तरलाई बताए ।
यसअघिका अमेरिकी निर्वाचनमा पनि केही नेपाली मूलका उम्मेदवार उठेका भएपनि विजय प्राप्त गरेका थिएनन् ।