
जनकपुरधाम– संघीय सरकारका स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्रकुमार यादवको निजी अस्पतालमा बिरामी कुरुवालाई अस्पतालका कर्मचारीहरूले कुटपिट गर्नुका साथै पुलिस बोलाएर पक्राउ गराएका छन् ।
जनकपुरस्थित जानकी हेल्थ केयर सेन्टरमा प्रसुतीका लागि भर्ना भएकी महिलाका कुरुवालाई अस्पतालका कर्मचारीले मरणासन्न हुने गरी कुटपिट गर्नुका साथै उल्टै प्रहरी बोलाएर पक्राएको आरोप पीडित पक्षले लगाएको छ ।
महोत्तरीको बर्दिबास नगरपालिकाकी २६ वर्षीय सिर्जनाकुमारी महतोलाई गएराति ८ बजेतिर उक्त अस्पतालमा भर्ना गरिएको थियो । सो समय अस्पतालमा चिकित्सक थिएनन् । ‘हामी चिकित्सकलाई बोलाउँदैछौं भनेर आकस्मिक कक्षमा रहेका कर्मचारीले भनिरहेका थिए, तर पनि कुनै विशेषज्ञ चिकित्सक आएनन्,’ सिर्जनाका बुवा उमेशकुमार महतोले भने ।
‘बच्चा जन्मिने क्रममा घाँटी १५ मिनेटसम्म झुन्डिएको थियो । त्यतिबेला सम्म पनि चिकित्सक नआइपुग्दा बच्चाको मृत्यु भयो,’ उमेशले लोकान्तरसँग भने ।
सिर्जना विधवा हुन् । उनका पति सरोज महतोको दुई महिनाअघि नै मृत्यु भएको थियो । पतिको मृत्यु भएको दुई महिनापछि जन्मिन लागेको छोराको पनि अस्पतालको लापरवाहीका कारण मृत्यु भएपछि सिर्जना पीडामा छिन् ।

‘चाडबाडका बेला चिकित्सक छैन भने शुरूमै अस्पतालमा भर्ना नगरी अन्यत्र रिफर गरिदिनुपर्यो भनेर हामीले भनिरहेका थियौं,’ उमेशले भने, ‘त्यत्तिकैमा अस्पतालका सबै डाक्टरदेखि कर्मचारीहरूले यहाँ हल्ला नगर । आफ्नो बिरामीलाई लिएर जाऊ । हामीले डिस्चार्ज गरिसक्यौं भन्न थाले ।’
‘यति मात्रै होइन अस्पताल बाहिरबाट २०/२५ जनाजति गुण्डालाई बोलाएर हामीमाथि कुटपिट गर्दै आक्रमण समेत गर्न थाले,’ उमेशले भने ।
यो मन्त्रीको अस्पताल हो भन्दै कुटपिट गर्ने क्रममा आफ्ना भाइ किशोरी महतोको आँखामा गम्भीर चोट लागेको उमेशले बताए ।
उनलाई तत्कालै जनकपुर अञ्चल अस्पताल लगियो । त्यहाँ उपचार हुन नसकेपछि जानकी आँखा अस्पताल भर्ना गरियो । उक्त अस्पतालले पनि उपचार गर्न नसक्ने भन्दै लाहानस्थित आँखा अस्पताल वा काठमाडौंको तिलगंगा आँखा अस्पताल लैजान रिफर गरेको छ । आँखामा रगत जमेकाले शल्यक्रिया गर्नुपर्ने अवस्था छ । परिवारले उनलाई लाहान लैजाने तयारी गरेको छ ।
हेल्थ असिस्टेन्ट समेत रहेका आफ्ना छोरा मोहनकुमार महतोलाई बिरामीबारे सोधखोज गर्दा कुटपिट गरी प्रहरी बोलाएर पक्राएको उमेशले बताए ।
मृत शिशुको शव अहिले पनि त्यही अस्पतालमा राखिएको छ भने सुत्केरी सिर्जना समेत अस्पतालमै छिन् ।
मन्त्रीको अस्पताल हो भन्दै लापरवाही र गुण्डागर्दी गर्दा मेरो नाति मर्यो । छोरो थुनामा छ । कुटपिटबाट भाइको आँखा नै अन्धो हुने अवस्थामा छ । मलाई न्याय दिनुपर्यो,’ उमेशले भने ।
सिर्जनाकी जेठानी सुनिता महतो र नन्द संगीता महतोले भने, ‘२०/२५ जना कर्मचारीहरूले हाम्रो मान्छेलाई कुटपिट गरिरहेका बेला बचाउन जाँदा हामीलाई समेत डस्टबिन र मुक्का प्रहार गरे । डस्ट्बिन उठाएर हान्दा डस्टबिन नै फुटेको छ ।'
बिरामीकै अाफन्तले कुटपिट शुरू गरेका हुन्, त्यसपछि के भयो थाहा छैन : चिकित्सक

उपचारमा संलग्न चिकित्सकले भने बिरामी पक्षले नै अस्पतालका कर्मचारीलाई कुटपिट गरेको बताएका छन् ।
सिर्जनाको उपचारमा खटिएका चिकित्सक डा. नवराज पाण्डेका अनुसार सिर्जना बर्दिबासस्थित आईआरडीएच अस्पतालबाट रिफर भएर राति ९ बजेतिर भर्ना भएकी थिइन् ।
उनले भने–
'इमरजेन्सीमै भर्ना भएका बेला गर्भमा रहेको बच्चाको मुटुको धड्कन फेला पार्न सकेनौं । त्यसपछि बिरामीका आफन्तलाई काउन्सिलिङ गर्दै बच्चाको धड्कन फेला नपरेको जानकारी गराएका थियौं । तै पनि भिडियो एक्सरे गर्नका लागि भन्यौं । चाडबाडका कारण राति हाम्रो अस्पतालमा त्यो सुविधा थिएन । बाहिर लैजान भन्यौं तर उनीहरूले मानेनन् ।
त्यसपछि हामीले इन्डक्सन गरेर २० देखि २५ मिनेटमा बच्चाको डेलिभरी गरायौं । बच्चामा लाइफको कुनै पनि लक्षण फेला परेन ।
तैपनि हामीले त्यो बच्चाको ईसीजी गरेर हेर्न भन्यौं । बच्चालाई ईसीजी गराउन लग्दा बिरामीका आफन्तहरूले ईसीजी गर्ने कर्मचारीलाई नै कुटपिट गर्न थाले ।
त्यसपछि कसले कसलाई कुट्यो मलाई थाहा भएन ।
अस्पताल प्रशासनसँग यसबारे प्रतिक्रिया लिन खोज्दा सम्बन्धित व्यक्ति अस्पतालमा भेटिएनन् ।
यता बिरामी पक्षले भने आफूहरूमाथि भएको कुटपिट अस्पतालको सीसीटीभीमा पनि हेर्न सकिने भन्दै त्यसको जाँच गर्न माग गरेका छन् ।