०२ असार २०८३, मंगलबार

ठेकेदारकाे लापर्बाही : आठ वर्षमा पनि बनेन शीत भण्डारगृह

कात्तिक २३, २०७५
ठेकेदारकाे लापर्बाही : आठ वर्षमा पनि बनेन शीत भण्डारगृह

बनियानी– झापाको भद्रपुर नगरपालिकामा निर्माणाधीन शीत भण्डारगृहको निर्माण कार्य आठ वर्ष बित्न लाग्दा पनि सम्पन्न हुनसकेको छैन । 

१५ महीनामा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि ठेकेदारको लापर्बाहीका कारण आठ वर्ष बित्न लाग्दा पनि निर्माण कार्य सम्पन्न हुन नसकेको हो । भारतीय दूतावासको सहयोगमा निर्माण हुन लागेको शीत भण्डारगृहको २०६७ पुस १५ गते सुनौला खिम्ती कन्स्ट्रक्सन कम्पनीले रु चार करोड १३ लाख ३७ हजार ३७४ मा १५ महीनामा काम सम्पन्न गरिसक्ने ठेक्का पाएको भद्रपुर नगरपालिकाका इञ्जिनीयर योगेन्द्र रञ्जितकारले जानकारी दिए । 

ठेकेदार धर्मराज थापा र शिवकुमार सोनीले शीत भण्डारगृहको २०६८ चैत १६ मा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता गरेका थिए । शीत भण्डारगृह भद्रपुर–५ स्थित नयाँ बजारमा भद्रपुर कृषक समूहका नाममा खरिद गरिएको जग्गामा निर्माण भइरहेको छ । 

हालसम्म शीत भण्डारगृहको ९० प्रतिशत काम पूरा भइसकेको छ । भवन निर्माणसँगै रङरोगनको काम भइरहेको छ भने भण्डारगृह क्षेत्रभित्र चाहिने आवश्यक थर्मोकुलरमा ग्यास भर्ने, ट्रान्समिटर, जेनरेटर, विद्युतीय उपकरण र अन्य केही यान्त्रिक उपकरण जडानको काम बाँकी छ । 

गृह मन्त्रालयले काम नगर्ने ठेकेदारलाई कारवाही शुरु गरेपछि ठेकेदार सोनी नगरपालिकाको सम्पर्कमा आएको इञ्जिनीयर रञ्जितकारले बताए । ठेकेदारले करीब रु तीन करोड ५० लाख बुझिसकेको र रु ६० लाख बुझ्न बाँकी रहेको नगरपालिकाका लेखा अधिकृत रामप्रसाद लुइँटेलले बताए । 

मुख्य ठेकेदारले अन्य ठेकेदारलाई काम दिएकाले निर्माणको काम ढिलो भएको नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताए । “मुख्य ठेकेदारले अन्य ठेकेदारलाई काम दिएको रहेछ”, उनले भने, “मुख्य ठेकेदारले काम गरेको रकम लाने र पेटी ठेकेदारले रकम नपाएपछि काम अलपत्रमा परेको हो ।” ठेकेदारलाई नगरपालिकाले पत्र काटिसकेको र बाँकी काम सकेर चाँडै सञ्चालनमा ल्याउने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्