०८ असार २०८३, सोमबार

मधेशी समुदायमा भैया दुइज गरिँदै

कात्तिक २३, २०७५
मधेशी समुदायमा भैया दुइज गरिँदै

खजुरा– पश्चिम नेपालका मधेशी समुदायमा तिहारको अन्तिम दिन आज यम द्वितीय अर्थात् भैया दुइजमा भुर्की पुजन गरिँदैछ । आजको शुभसाइत बिहान ११ बजेर ५५ मिनेटमा भुर्कीपुजन गरी आ–आफना दाजुभाइलाई टीका लगाई चिउरा, भुर्की र मिठाइ खुवाउने गरिन्छ । 

घरको आँगनमा गाईको गोबरले लिपपोत गरी भाइको चित्र कोरेर, नदी तलाउ, पर्वत, बाघ, भालु, सर्प, वन जङ्गलका चित्र बनाएर जङ्गलमा पाइने कुशलगायत विभिन्न काँडा राखी त्यसमाथि सिलौटा राखेर पूजा गर्ने चलन छ । सो सिलौटामा चामलको पिठोले नदी बनाएर त्यसमा धर्म भाइको मूर्ति बनाएर पूजा गरिन्छ । गाउँ टोलका सम्पूर्ण महिला एकजुट भई सामूहिक रुपमा भुर्की पुजन गर्छन् । त्यस क्रममा भाइ बहिनीको सुख, समृद्धि र शान्तिका लागि विभिन्न कथा, कहानी पनि सुनाउने गरिन्छ । 

भुर्की पुजनका क्रममा दिदीबहिनीले आज बिहानैदेखि व्रत बसेर आ–आफ्नो दाजुभाइको सुख, शान्ति, उन्नति, सुस्वास्थ्य, प्रगतिलगायतको कामना गर्छन् । आज पूजा गरिने चिउरा भुर्की टाढा रहेका आफ्ना दाजुभाइलाई कात्तिक पूर्णिमासम्म खुवाउने प्रचलन छ । 

salt training

कमेन्ट गर्नुहोस्