
काठमाडौं– तिहारको अन्तिम दिन हिजो (शुक्रबार) दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाएका छन् । यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ–आफ्नो परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिएर भाइटीका पर्व मनाइएको हो ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार बिहान ११ बजेर ५५ मिनेटको साइत उत्तम भएपनि कार्य व्यस्तताका कारण साइतमा टीका लगाउन नभ्याउनेहरुले आफू अनुकुलको समयमा टीका लगाए । राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्चपदस्त व्यक्तित्वसहित सर्वसाधारणले टीका लगाए ।
तिहारको अर्को रमाइलो पक्ष भनेको देउसी भैलो पनि हो । के युवायुवती, के बालबालिका के वृद्धवृद्धा सबैलाई देउसी भैलो मन पर्छ । र उनीहरु पनि समूह बनाएर देउसी भैलो खेल्ने गर्दछन् । सरकारले राती अबेरसम्म देउसी भैलो खेल्दा सामाजमा खलल् पुग्नेभन्दै राती १० बजेपछि देउसी भैलो खेल्न रोक लगाएको छ ।
गृहमन्त्री रामबहादुर थापाले देउसी भैलो मार्फत संस्कृतीको जर्गेना गर्न आह्वान गरेका छन् । कात्तिक कृष्ण त्रयोदशीका दिन शुरु भएको यमपञ्चक पनि कात्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाएपछि समाप्त भएको छ ।
तिहार सकियो, छठको रौनक शुरू
अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्ने तराई मधेस तथा मिथिलाञ्चलवासी छठको तयारीमा जुटेका छन् । नियम, निष्ठा र विधिपूर्वक मनाइने साझा संस्कृतिका रुपमा रहेको छठमा आवश्यक पर्ने सामग्रीको जोहो र किनमेल गर्न सर्वसाधारण व्यस्त छन् ।
मुख्यतः सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान गर्न ग्रामीणस्तरमा रहेका पोखरी, इनार, तालतलैयालगायत जलाशयलाई विभिन्न संघसंस्था र युवा क्लबले सरसफाइ गरी बिजुली, पण्डाललगायतको व्यवस्था मिलाउन थालेका छन् ।
चार दिनसम्म मनाइने सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको छठ पर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन उदाउँदो सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा समापन हुने गर्छ । छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु अनिर्वाय रुपमा बार्ने चलन छ ।
पछिल्लो समय मधेसी समुदायका बीच मात्र होइन छठ पहाडी समुदायका बीचमा समेत लोकप्रिय हँुदै गएको छ । दीपावलीको दिनदेखि छठका गीत बजाउने क्रम बढेको छ । तिहार र छठ लगभग सँगसँगै शुरु भइसक्छ ।
प्रेमको प्रतीक सामाचकेवा पर्व शुरु
मिथिलाञ्चलमा भाइटीकाका दिनदेखि नै मनाइने दिदीबहिनी र दाजुभाइबीच प्रेमको प्रतीकका रूपमा रहेको सामाचकेवा पर्व शुक्रबार विधिवत रूपमा शुरु भएको छ । कात्तिक शुक्ल द्वितिया तिथि अर्थात हिजोदेखि कात्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने यस पर्वका लागि कलात्मक मूर्ति बनाउनका लागि माटोको जोहो गर्नुपर्ने भएकाले पर्वको शुभारम्भका रूपमा लिने गरिएको हो ।
यो पर्वका लागि दिदीबहिनीले माटाका विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर कात्तिक पूर्णिमाको मध्यरात्रिमा विशेष पूजापाठ गरी पर्वको सम्पन्न गर्ने गर्छन् । काँचो माटोले बनाइएका मानव, चरा र जनावरलगायतका मूर्तिलाई ‘सामा’ र सोही सामालाई आगोमा पकाएमा त्यसलाई ‘चकेबा’ भनिन्छ । भगवान कृष्णकी छोरीको नाम सामा थियो ।
आफ्ना पिता कृष्णबाट श्रापित भएर ‘चरा’ बनेकी सामालाई भाइ साम्बले चराबाट मुक्त गराएकाले भाइ साम्बलाई ‘चकेवा’को नामाकरण गरिएको हो । यो पर्व मैथिलानी र थारु समुदायकी महिलाहरूले मनाउने गरिन्छ । ग्रामीण क्षेत्रमा अझैं पनि यो पर्वको लोकप्रियता कायमै छ भने तराईका सहरी क्षेत्रमा क्रमिक रूपमा यो पर्वप्रतिको आकर्षणमा केही कमी आएको महशुस गर्न थालिएको छ ।
नेपाल संवत्को विशेष कार्यक्रम मङ्सिरमा
नेपाल संवत् ११३९ न्हूदँ समारोह समितिले आगामी मङ्सिर १० गते उक्त संवत्लाई नयाँ वर्षको उपलक्ष्यमा विशेष कार्यक्रम गरी मनाउने भएको छ । यही कात्तिक २२ गते गर्नुपर्ने उक्त कार्यक्रम नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा विकास गर्न महत्वपूर्ण योगदान गरेका नेता पद्मरत्न तुलाधरको यही कात्तिक १८ गते भएको निधनले औपचारिक समारोह तथा सांस्कृतिक कार्यक्रम स्थगित गरिएको थियो ।
उक्त दिन शङ्खधर शाख्वाः दिवसका सन्दर्भ पारेर औपचारिक कार्यक्रम गर्न लागिएको हो । समितिका अध्यक्ष सत्यभामा माथेमाले नेपाल संवत्को वैज्ञानिक पक्षबारे जानकारी गराउन स्थगित गरिएको उक्त कार्यक्रम गर्न लागिएको जानकारी दिए ।
दिक्तेलमा भएको आगलागीमा तीन करोडको क्षति
खोटाङको दिक्तेलमा भएको आगलागीमा झण्डै तीन करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब दुई करोड ९० लाख ९२ हजार बराबरको क्षति भएको अनुमान गरिएको हो ।
शुक्रबार बिहान करिब साढे तीन बजेबाट शुरु भएको आगोले दिक्तेल बजारको रत्नपार्कस्थित अम्बिका बुढाथोकी र कृष्ण श्रेष्ठको घर पूर्ण रुपमा क्षति पुगेको हो । नेपाल प्रहरी, सशस्त्र, सेना तथा स्थानीयले आगो निभाएका थिए ।
आठ वर्षमा पनि बनेन शीत भण्डारगृह
झापाको भद्रपुर नगरपालिकामा निर्माणाधीन शीत भण्डारगृहको निर्माण कार्य आठ वर्ष बित्न लाग्दा पनि सम्पन्न हुनसकेको छैन । पन्ध्र महीनामा निर्माण सम्पन्न गर्ने सम्झौता भए पनि ठेकेदारको लापर्बाहीका कारण आठ वर्ष बित्न लाग्दा पनि निर्माण कार्य सम्पन्न हुन नसकेको हो ।
भारतीय दूतावासको सहयोगमा निर्माण हुन लागेको शीत भण्डारगृहको २०६७ पुस १५ गते सुनौला खिम्ती कन्स्ट्रक्सन कम्पनीले रु चार करोड १३ लाख ३७ हजार ३७४ मा १५ महीनामा काम सम्पन्न गरिसक्ने ठेक्का पाएको भद्रपुर नगरपालिकाका इञ्जिनीयर योगेन्द्र रञ्जितकारले जानकारी दिए । ठेकेदार धर्मराज थापा र शिवकुमार सोनीले शीत भण्डारगृहको २०६८ चैत १६ मा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता गरेका थिए । शीत भण्डारगृह भद्रपुर–५ स्थित नयाँ बजारमा भद्रपुर कृषक समूहका नाममा खरिद गरिएको जग्गामा निर्माण भइरहेको छ ।
त्रिपिटक वाचनका लागि लुम्बिनी झकिझकाउ
नेपालमै पहिलो पटक हुन लागेको त्रिपिटक वाचन कार्यक्रमका लागि लुम्बिनी क्षेत्र सिँगार्न थालिएको छ । देश विदेशबाट सयौँको सङ्ख्यामा उपस्थित हुने भिक्षुहरूले तीन दिनसम्म त्रिपिटक वाचन गर्ने कार्यक्रम तय भएपछि लुम्बिनीको मायादेवी परिसर सिँगार्न थालिएको हो ।
सरसफाइ गर्ने, पुष्पगुच्छाले सिँगार्ने, बौद्ध झण्डा, तुल, ब्यानर टाँग्नेलगायतका काम शुरु भैसकेको छ । उक्त कार्यक्रममा सहभागी हुने भिक्षुलाई निःशुल्क प्रवेश दिने र पवित्र धार्मिक कार्यमा सहभागी हुन चाहने अरू बौद्ध धर्मावलम्बीलाईसमेत आवतजावतमा सहज बनाउने निर्णय लुम्बिनी विकास कोषले गरेको छ । यही कात्तिक २८, २९ र ३० गते मायादेवी परिसरमा यो कार्यक्रम हुनेछ ।