
तनहुँ- तनहुँको व्यास नगरपालिका–८ रिस्तीका पुरुषोत्तम रेग्मी गाउँमा युवा नहुँदा धान काट्न समस्या भएको प्रति चिन्तित हुनुहुन्छ । गाउँमा काम गर्ने युवा नहुँदा भनेको दिनमा धान काट्न नपाएको र खेतमै धान झरेर जाने समस्या रहेको उहाँ बताउनुहुन्छ ।
युवाहरु वैदेशिक रोजगारीको सिलसिलामा विदेशिनु र गाउँमा अधिकांशको घरमा वृद्ध आमाबाबु मात्रै रहेका कारण धान काट्न समस्या भएको उहाँको भनाइ छ । सोही ठाउँकै रामप्रसाद मिश्रले समेत गाउँमा युवा नहुँदा धान काट्न समस्या भएको गुनासो गर्नुभयो । “अधिकांश युवा वैदेशिक रोजगारका लागि विदेश र अध्ययनका लागि शहरबजार झरेपछि गाउँमा धान काट्न समस्या भएको हो”, उहाँले भन्नुभयो ।
धान रोपाइँको क्षेत्रफल घट्यो
तनहुँमा बाह्र हजार दुई सय पचास हेक्टर क्षेत्रफलमा धान रोपाइँ भइरहेको छ । तनहुँमा यस वर्ष करीब दुई हेक्टर क्षेत्रफलमा धान रोपाइँ घटेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ । जिल्लामा कृषिकर्म गर्ने युवा जनशक्तिको अभाव, वैदेशिक रोजगारी तथा बसाइसराइजस्ता कारणले ग्रामीण क्षेत्रमा खेतीयोग्य जमीन बाँझिने क्रम बढ्दै गएको कार्यालयले जनाएको छ ।
तनहुँको तनहुँसुर, सेपाबगैँचा, कलेस्ती, पुर्कोट, गजरकोटको अत्रौली, आँबुखैरेनी, साँगेफाँटलगायतका क्षेत्रहरु धानखेतीका लागि उपयुक्त फाँटका रूपमा लिइन्छ । यहाँका कृषकले सावित्री, मकवानपुरे, रामपुर, हर्दिनाथ, मन्सुलीलगायतका उन्नत जातका बीउ प्रयोग गरी धानखेती गर्दै आएका छन् ।