२८ असार २०८३, आइतबार

यो आतिसबाजीको देश हो (कविता)

कात्तिक २५, २०७५
यो आतिसबाजीको देश हो (कविता)

वीरेन्द्र कटुवाल

यो,
आतिसबाजीको देश हो ।
यहाँ, 
भोकहरू मौलाउँछन्,
भोकाहरू बौलाउँछन्,
र, 
आतिसबाजी हुन्छ,
स्वादिष्ट भोजनका पोस्टरहरूको । 

यहाँ, 
न्याय प्याकप्याक गर्दै मर्छन्
अन्यायीले तरक्की गर्छन् ।
र 
आतिसबाजी हुन्छ,
कानूनी राज्यका ध्वजापताकाहरूको ।
यहाँ, 
अधिकारको बिल्लीबाठ हुन्छ ।
अधिकारकर्मीको फलिफाप हुन्छ । 
र, 
आतिसबाजी हुन्छ,
मानवअधिकारका रङ्गीन ब्यानरहरूको । 
यहाँ, 
लोकतन्त्र गायत्रीमन्त्र बन्छन्
लोकतन्त्रवादी नयाँ बादशाह हुन्छन् ।

आतिसबाजी हुन्छ, 
कल्याणकारी राज्यका पर्चाहरूको ।
यहाँ, 
रोगको उत्पादन हुन्छ,
रोगीको व्यापार हुन्छ,
र, 
आतिसबाजी हुन्छ, 
स्वास्थ्य अधिकारका दस्तावेजहरूको ।
यहाँ, 
गरीबले क्रान्ति गर्छन् ।
परजीवीले शासन गर्छन् । 
र, 
आतिसबाजी हुन्छ,
समाजवादका ठूलाठूला बलूनहरूको ।

हो, 
यहाँ यस्तै हुन्छ,
मर्ने मर्दै गर्छन् / रुने रुँदै गर्छन्,
र,
आतिसबाजी हुन्छ,
शान्ति, समृद्धि र अमनचैनका होर्डिङबोर्डहरूको ।
यहाँ, 
मानवताको कत्लेआम हुन्छ,
दानवताको वन्दना हुन्छ ।
र 
आतिसबाजी हुन्छ,
सामाजिक सद्भावका स्वर्णिम विज्ञापनहरूको ।
हो, 
यो आतिसबाजीको देश हो । 
बोकेर,
रक्ताम्मे अस्मिता थाम्लोमा,
लुकाएर,
छाती चिरिने वेदना हृदयमा,
छोपेर, 
भोकतिर्खाको ज्वालामुखी आँतमा,
आतिसबाजी हुन्छ, 
जय–जयगानहरूको,   
नव–महाराजहरूको दीर्घायु  र चिरायुको कामनामा । 
किनभने
यो आतिसबाजीको देश हो । 
 

salt training

कमेन्ट गर्नुहोस्