२० असार २०८३, शनिबार

शहर सफा राख्न वीरेन्द्रनगरका चोकचोकमा डस्टबिन

कात्तिक २५, २०७५
शहर सफा राख्न वीरेन्द्रनगरका चोकचोकमा डस्टबिन

सुर्खेत –वीरेन्द्रनगर नगारपालिकाको विभिन्न वडामा फोहोर संकलनका लागि डस्टबिन राखिएको छ । नगरपालिका, नेपाल रेडक्रस सोसाइटी सुर्खेत शाखा र वातावरण सुधार केन्द्रको संयुक्त साझेदारीमा २७ स्थानमा डस्टबिन राखिएको हो ।

वीरेन्द्रनगरका विभिन्न स्थानमा डस्टबिन राख्नेगरी काम अघि बढाइएको रेडक्रस सुर्खेत शाखाका वरिष्ठ अधिकृत गोविन्दप्रसाद आचार्यले बताए ।

‘वीरेन्द्रनगरको वडा नं. ४, ७ र ८ का ८/८ स्थान तथा वडा नम्बर ५ को ३ स्थानमा डस्टबिन राखिसकेका छौं,’ उनले भने, ‘वीरेन्द्रनगरको वडा नं. ६ मा ८ स्थानमा र १२ नम्बरको ७ स्थानमा डस्टबिन राख्ने तयारीमा छौं ।’

स्वीस रेडक्रसको आर्थिक सहयोगमा वीरेन्द्रनगरका चोकहरूमा डस्टबिन राख्न लागिएको हो ।

ती डस्टबिनका लागि ६ लाख ५० हजार रकम खर्च हुने आचार्यको भनाइ छ । ‘हामीले वीरेन्द्रनगरमा राख्ने डस्टबिन ८० लिटर क्षमताका छन्,’ उनले भने, ‘सबै डस्टबिन र स्ट्याण्डको लागत खर्च ६ लाख पचास हजार पुग्ने अनुमान छ ।’

बजारमा राखिएका डस्टबिनहरू हरियो र अर्को रातो रंगका छन् ।

‘हरियो रंगको डस्टबिनमा कुहिने र रातो रंगको डस्टबिनमा नकुहिने खालको फोहोर संकलन हुनेछ,’ उनले भने, ‘त्यस्तो गर्दा फोहोर अलग हुने र त्यो फोहोरको प्रयोग गर्न सहज हुने हाम्रो अपेक्षा हो ।’

यता वीरेन्द्रनगरका नगर प्रमुख देवकुमार सुवेदीले नगरलाई सफा राख्न र फोहोर व्यवस्थापन गर्न सहज हुने ठानेर बजारमा डस्टबिन राखिएको बताए ।

‘हामीले राजधानीलाई सफा र सुनदर बनाउने अभियानको थालनी गरिरहेका छौं,’ उनले भने, ‘यो वर्ष केही स्थानमा नमूना प्रयोगका लागि हामीले डस्टबिन राखेका छौं ।’

उनले यदि नमूना डस्टबिन अभियानले सफलता पाएको खण्डमा नगरभरी नै यस्ता डस्टबिनहरु राख्ने बताए ।

‘जहाँ पायो त्यही फोहोर फाल्ने बानीलाई निरुत्साहित गर्दै नगरपालिकालाई सफा राख्ने अभियान अन्तर्गत यो कार्यक्रम लागू गरेका हौं,’ उनले भने, ‘नगरलाई सफा राख्ने जिम्मा नगरको मात्रै नभएर सबै नगरवासीको हो । फोहोरलाई डस्टबिनमा मात्रै राख्ने बानी विकास हुने विश्वास सहित हामीले यी डस्टबिनहरू राखेका हौं ।’

salt training

कमेन्ट गर्नुहोस्