२३ असार २०८३, मंगलबार

खाल्डाखुल्डीमा फसेको ‘ओली एक्सप्रेस’ र गियर फेर्ने प्रचण्ड रटान

कात्तिक २५, २०७५
खाल्डाखुल्डीमा फसेको ‘ओली एक्सप्रेस’ र गियर फेर्ने प्रचण्ड रटान

फेर्छु भन्छन् प्रचण्ड सरकारको गियर 
गियर हो कि फेर्न खोज्या पिएम चियर ?

यस पटकको तिहारको अवसरमा सिस्नुपानी नेपालले बनाएको देउसी गीतको एउटा हरफ हो यो । सिस्नुपानीको देउसी भैलोमा यो लाइन भट्याइरहँदा सुन्ने र हेर्नेले ताली पिटे । उनीहरुले ताली पिट्नुका पछाडि केही घटना क्रम जोडिएका छन् । 

वामदेव प्रकरण, पार्टी एकताका क्रममा दुई वर्षपछि सरकारको नेतृत्व परिवर्तनको सहमती भएको भन्दै भारतीय पत्रिकालाई अन्तर्वार्ता दिने लगायका विषयका कारण सिस्नुपानीको देउसीमा भट्याइएको  ‘ गियर हो कि फेर्न खोज्या पिएम चियर ?’ का क्रममा धेरैले ताली पिटे । तर पछिल्लो समय नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफ्नै पार्टीका अध्यक्ष केपी ओली नेतृत्वको सरकारको बचाउँमा उत्रिएका छन् । सरकारले काम गर्न नसेको स्वीकार गर्दै उनले अब सरकारले गियर बदल्ने र जनताले प्रत्यक्ष अनुभूत गर्न पाउँने गरि विमास निर्माण, खाल्डाखुल्डि पुर्ने, कालोबजारी, महंगी नियन्त्रणको काम ‘उच्च गति’ मा हुने बताइरहेका छन् ।

कहाँ अलमलियो सरकार ?

केपी ओली नेतृत्वको सरकार गठन भएको ९ महिना पूरा हुँनै लाग्दा सरकारले गति लिन नसकिरहेको स्वयं नेकपाका कार्यकर्ताहरुले पनि गुनासो गरिरहेका छन् ।

सरकारको काम कारवाही सुस्त भएको जनगुनासो बीच नेकपाका अर्का अध्यक्ष प्रचण्डले सरकारले गियर परिवर्तन गरेर गति बढाउने बताइरहेका छन् । 

गएको २० असोजमा नेकपाको प्युठान काठमाडौं सम्पर्क मञ्चले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा प्रचण्डले सरकारका काम कारवाहीलाई प्रभावकारी बनाउन र गति दिनʻगियर बदल्नेʼ घोषणा गरे । 

गाडी पहिलो गियरमा चल्दा गति लिन नसकेकोले गति लिनको लागि गियर चेन्ज गरेजस्तै सरकारले गियर फेर्न लागेको उनले संकेत गरे । त्यसयता उनले हरेक दिन जसोको भाषणमा अब सरकारले ‘स्पिड’ बढाउनका लागि गियर फेर्ने बताउँदै आएका छन् । 

सरकारले गियर चेन्ज गर्न लागेको भनेर प्रचण्डले दाबी गरेको केही दिनपछि प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएर अस्पताल भर्ना भए । पाँचदिन अस्पताल बसाइपछि प्रधानमन्त्री ओली बालुवाटार फर्केसँगै नियमित काममा व्यस्त बनेका छन् । 

असोज २० को एक महिना पछि कात्तिक १९ मा प्रचण्डले उही अभिव्यक्ति दोहोराए– सरकारले गियर चेन्ज गर्छ । ‘हिलो मैलोमा १ नम्वर गियरमा गाडी चलाइने र हिलो नभएको ठाउँमा गियर परिवर्तन गरिन्छ अब हिलो हटिसकेको छ, सरकारको गियर पनि चेन्ज हुन्छ । गियर चेन्जसंगै सरकारको कामको गति पनि बढ्छ ।’ 

वर्तमान सरकारले नितीगत विषयमा धेरै काम गरेको भएपनि जनजिविकाको सवालमा काम गर्न नसकेको प्रचण्ड स्वयं र सरकारका मन्त्रीहरुले समेत बताएका छन् । जनताका अपेक्षा पुरा गर्नका लागि पनि प्रचण्डले भनेजस्तो सरकारको गियर फेर्दै सरकारको कामलाई तिव्रता दिनु अहिलेको आवश्यकता हो ।

गियर चेन्ज कि मन्त्रिमण्डल ?

सरकारको गति बढाउन गियर चेन्ज गर्ने भनेर प्रचण्डले बारम्बार भनिरहेपनि ʻगियर चेन्जʼ पछि कतिको गतिमा सरकार कुद्छ त्यो उनले बताउँदने गरेका छैनन् । तर धेरैले भने ‘गियर चेन्ज’ को अर्थ मन्त्रिमण्डलमा पुनर्गठनको रुपमा लिए । 

सरकारको गति बढाउने बिषयलाई लिएर प्रचण्डले परस्पर विरोधी अभिव्यक्ति दिने गरेका छन् । भारत भ्रमणमा जानुअघि प्रचण्डले आफ्नै निवासमा पत्रकारहरुसँग कुरागर्दै मन्त्री फेर्ने संकेत गरेका थिए । तर प्रचण्डले बोली फेरिहाले, तत्काल मन्त्री फेरिँदैनन् भन्दै । 

जनअपेक्षा पूरा गर्न पूरक बजेट ल्याउने कुरा गरे, कति पयले गियर चेन्जको अर्थ पूरक बजेट हो कि भन्ने पनि आशंका गरे । चालु आार्थिक वर्षको बजेटप्रति खासै सकारात्मक नदेखिएका प्रचण्डले पुरक बजेटको प्रसंग ल्याएका थिए । पूरक बजेटको प्रसंग पनि लगभग सेलाइसकेको छ । 

अंकगणितका हिसावले संसदमा दुई तिहाई बहुमत भएपनि केही संस्थागत सुधारका काममा अल्झेका कारण सरकारको कामले गतिलिन नसकेको नेकपा नेताहरुको दावी छ । 

ʻकेन्द्र, प्रदेश र स्थानीय ततहका तीनवटा संरचनाको समायोजन सही ढंगले हुन नसक्नु र स्थानीय सरकारले गरेको गलत कामको अपजस पनि संघीय सरकारले लिनुपरेको छʼप्रधानमन्त्री निकटस्थ नेकपाका एक नेता भन्छन्, ʻसरकारका कामको बस्तुगत मूल्याङ्कन भन्दापनि सामाजिक सञ्जालमा आलोचनामात्र बढी भयो ।ʼ

अझ दौडिन चाहान्थ्यौं

सरकारका कामकारवाही प्रति जनतामा देखिएको असन्तुष्टिबारे प्रधानमन्त्री ओली जानकार नै छन् । गएको ४ चैतमा सरकारका मन्त्री र सचिवहरुलाई निर्देशन दिने क्रममा प्रधामनन्त्री ओलीले असामान्य जिम्मेवारी सहित बनेको  सरकारलाई असफल बन्ने छूट नभएको बताएका थिए । 

तरपनि सरकारले जन अपेक्षा अनुसार काम गर्न नसकेको टिप्पणी भइरहेको छ । ʻप्रधानमन्त्री र हामी सबै यस भन्दा धेरै दौडिन चाहन्थ्यौं । चाहना र रियालिटीमा फरक हुँदो रहेछ । दौडिन पथ्र्यो हामी कहाँ अल्झेका छौं भने कानूनहरू बाधक छन् । पाँच दिनमा एउटा कानून बनायौं र असोज ३ को डेटलाइनबाट जोगियौं । अझ सय वटा कानून बनाउन जरूरी छʼप्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल भन्छन् ।

तर सर्वसाधारणले भने दुई तिहाइ बहुमत प्राप्त शक्तिशाली सरकारले यो वा त्यो वाहनामा काम गर्न सकिन भन्न नमिल्ने बताउँदै आएका छन् । ओली नेतृत्वको सरकारले आफ्नो गति बढाउनका लागि गियर फेरोस् भन्ने आम चाहना छ, तर प्रधानमन्त्री ओलीलाई गियर फेर्न किन समस्या परिरहेको छ र कसले रोकिरहेको छ ? प्रश्न उव्जिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्