काठमाडौं — फिलिपिन्सको डोमेस्टिक एयरवेजमा काम गर्ने एयरहोस्टेस पत्रिशाले उडानका क्रममा अचम्मको स्थितिको सामना गर्नुपरेको छ ।
उनी ड्युटीमा हुँदा उडानकै क्रममा एउटा बच्चा रुन थाल्यो । धेरै बेर रुँदा पनि बच्चा चुप नलागेपछि एयरहोस्टेस आमाकहाँ पुगिन् र बच्चा रोएको कारण सोधिन् ।
बच्चाको धूलो दूध सकिएकाले ऊ रोएको रहेछ । आफूबाहेक अन्य कुनै पनि महिलाले बच्चालाई फकाउन सक्ने देखिनन् । त्यसपछि उनले बच्चालाई ब्रेस्टफीड गराउने प्रस्ताव राखिन् । यो सुन्नेसबित्तिकै बच्चाकी आमा भावुक भइन् र बच्चा उनलाई सुम्पिइन् ।
बच्चाले दूध पिउन शुरू गरेको एकछिनमा चुप लागेर सुत्यो । त्यो देखेर आमा सन्तुष्ट भइन् ।
पत्रिशाले पत्रकारहरूसँग कुरा गर्दै बताइन्, ‘आमा भएकाले म बुझ्छु, आफ्नो बच्चाको भोक मेटाउन नसक्दा साह्रै पीडा हुन्छ । अपरिचित व्यक्तिको बच्चाको आवश्यकताअनुसार उडानकै क्रममा दूध पियाउँदा मलाई एकदमै राम्रो अनुभव भइरहेको छ । मलाई दूध दिएकोमा भगवानलाई धन्यवाद दिन्छु ।’
उता बच्चाकी आमाले पत्रिशालाई यो सहायताका लागि धन्यवाद दिएकी छन् ।
एजेन्सी