सुर्खेत –हाल अमेरिकामा बस्दै आएकी दैलेखकी चेली जयन्ती थापाले आफ्नी छोरीको जन्मदिनको अवसरमा एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेकी छिन् ।
उनले आइतबार छोरी सुजन चन्दको १८औं जन्मदिनको अवसर पारेर वीरेन्द्रनगर १२ पदमपुरमा रहेको जनजागृत प्राथामिक विद्यालयमा १ लाखको चेक हस्तान्तरण गरी अक्षयकोष स्थापना गेकी हुन् ।
उक्त विद्यालयमा रहेका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई शिक्षा आर्जनमा सहयोग पुग्ने उद्देश्यका साथ अक्षयकोष स्थापना गरिएको हो । उक्त अक्षय कोषको नाम जयन्तिकी आमा पार्वती र बुबा धर्मजंग थापाको नामबाट धर्म–पार्वती रहने बताइएको छ ।
अक्षयकोषका लागि चेक हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले अमेरीकामा बसेर नेपालका विभिन्न ठाउँमा अक्षयकोष स्थापना गर्ने कार्य प्रशंसनीय भएको बताइन् ।
‘जन्मदिन, विवाह तथा अन्य कार्यहरूमा भोज खाएर रमाउनुभन्दा सामाजिक कार्यमा लगानी गरेर समाज परिवर्तनको क्षेत्रमा अगाडि बढ्नु स्रहानिय कार्य हो,’ उनले भनिन्, ‘यो अक्षयकोषले यहाँ अध्ययनरत गरिब विद्यार्थीहरूका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने कुरामा दुईमत छैन ।’
कार्यक्रममा वीरेन्द्रनगर नगर कार्यपालिकाका स्रोत व्यक्ति लोकबहादुर खत्रीले जयन्तिले गरेको कार्यले शिक्षा क्षेत्रमा अन्य व्यक्तिहरूलाई पनि सिक्ने अवसर प्रदान गरेको बताए । यसैगरी वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का वडाअध्यक्ष लोकप्रसाद चालिसेले राम्रा काम गर्नका लागि गाउँमै बस्नुपर्ने नभएर मन भएपछि विदेशमा बसेर पनि आफ्नो गाउँठाउँको उन्नतिका लागि काम गर्न सकिने बताए ।
छोरीको जन्मदिनमा शिक्षा क्षेत्रका लागि गरिएको यस कार्यले आफूलाई गौरवान्वित बनाएको र आफू निकै खुसी भएको जयन्तिका बुबा धर्मजंग थापाले बताए ।
विद्यालयका प्रधानाध्यापक ज्ञानुकुमारी सुवेदीले यो अक्षयकोषमा रहेको रकमले असहाय विद्यार्थीको शिक्षा प्राप्तिमा सहयोग पुग्ने बताइन् ।
जयन्ती थापाले आफ्नो गृहजिल्ला रुकुम, दैलेख, सुर्खेत, जाजरकोट, कैलालीलगायतका जिल्लाहरूमा विपन्न बालबालिका, असहाय लगायतलाई कहिले न्यानो कपडा त कहिले शैक्षिक सामग्रीहरू वितरण गर्दै आइरहेकी छिन् ।
उनले विभिन्न जिल्लाका ८ जना बालबालिकाहरूको पढाइको जिम्मा समेत लिएकी छिन् । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।