१४ असार २०८३, आइतबार

‘ओली सरकारले अब पिक अप लिन्छ’

कात्तिक २५, २०७५
‘ओली सरकारले अब पिक अप लिन्छ’

काठमाडौं–सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले अब ‘पिक–अप’ लिने घोषणा गरेका छन् । 
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका उनले भने,‘सरकारले अब गति लिन्छ । यसमा कुनै शंका छैन् । वर्तमान प्रधानमन्त्री यसअघि प्रधानमन्त्री हुँदापनि सफल नै हुनुभएको थियो । अब पनि सफल हुनुहुन्छ । तर, अहिल्यै नै सरकार सफल कि असफल भनेर मुल्यांकन गर्ने बेला भएको छैन् ।’
आइतबार राजधानीमा आयोजिक कार्यक्रममा बोल्दै नेता रायमाझीले सरकारको गति अब विस्तारै गाडीबाट रेल, रेलबाट हवाईजहाज र त्यसपछि जेट विमान हुँदै रकेटको स्पीडमा पुग्ने विश्वास दिलाए । उनले भने,‘अहिले पनि सरकारले आफ्नो गति पहिलो, दोस्रो र तेस्रो गियर थप्दै बढाएर लैजान्छ ।’
सरकारलाई काम गर्नका लागि प्रमुख प्रतिपक्षी दलले पनि कुनै अवरोध नगरेको उनले स्पष्ट पारे । रायमाझीले भने,‘सरकारलाई विकास निर्माण र समृद्धिको लागि प्रतिपक्षी दलको पनि पूर्ण समर्थन छ । कुनै अवरोध छैन् । बरु प्रतिपक्षीले सरकारलाई अझै आलोचना गर्नुपर्छ । आलोचना र विरोध गर्न अझै पुगेको छैन् । सरकारलाई जागरुक गर्नुपर्ने, उठाउनुपर्ने विषय अझै जोडतोडका साथ उठाउनुपर्छ । प्रतिपक्षीको भूमिका अझै पुगेको छैन भन्ने मेरो ठम्याई छ।’
मुलुक यतिवेला एउटा युगबाट अर्को युगमा प्रवेश गरेको उल्लेख गर्दै उनले भने,‘हामी नयाँ युगमा प्रवेश गरेका छौं । तर, हाम्रो सोच र चिन्तन भने अझैपनि पूरानै छ । विकास र समृद्धिप्रति हाम्रो सोच अब परिवर्तनशील हुनुपर्छ । पूरानै सोच, चिन्तन र शैलीबाट विकास र समृद्धि हुँदैन् । अब हामी रुपान्तरण हुनुपर्छ ।’ विश्वका कुनैपनि देश रातारात समृद्ध नभएको सुनाउँदै उनले मुलुकको समृद्धिको लागि सबैले एक साथ आफ्ना कदमहरु अघि बढाउनुपर्ने धारणा राखे । 
खाल्डाखुल्डीहरु त यो सरकार आउनुभन्दा पहिलापनि भएको उनले जिकिर गरे । उनले भने,‘यसअघिका सरकारको पालामा पनि खाल्डाखुल्डीहरु थिए । अब खाल्डाखुल्डीहरु क्रमशः पुर्ने काम अघि बढ्छ । एक वर्षभित्र सबै खाल्डाखुल्डीहरु पुरिन्छन् । ५ वर्षभित्र रेल आउने आधार बन्ने उनको भनाई छ । उनले भने,‘सडक सञ्जालमात्रै होईन, अब रेल सञ्जालले पनि नेपाललाई जोड्छ ।’ 
फरक प्रसँगमा उनले नेकपाभित्रको एकता अब चाँडै सम्पन्न हुने पनि विश्वास दिलाए । 
कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चीनकाजी श्रेष्ठले वर्तमान सरकार पूर्ण रुपमा असफल भैसकेको दाबी गरेका छन् । उनले भने,‘अहिलेको सरकारले दिन दुई गुणा, रात चौगुणाले काम गर्नुपर्ने हो । तर, अहिले सरकारले काम गर्न सकेन् । यो सरकारको आयु पाँच वर्षको छ । तर, यसले स्थायी सरकारको गतिविधि देखाउन सकेको छैन् । यसको गति कछुवाकोजस्तो छ । न हाँसको चाल, न बकुल्लाको चाल नै भयो ।’
सरकारको नेतृत्वकर्ता वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले रेल कुदाउने, राष्ट्रिय ध्वजाबाहक पानीजहाज चलाउने योजनाहरु सार्वजनिक गरेपनि यी सबै कुराहरु दीर्घकालिन योजना भएकोले अहिले सरकारले त्यतातिर भन्दापनि जनतालाई महँगीबाट बचाउनुपर्ने आवश्यकत्ता रहेको नेता श्रेष्ठको भनाई छ । 
 

salt training

कमेन्ट गर्नुहोस्