
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले पछिल्लो निर्वाचनमा वामपन्थी शक्तिहरूबीच कार्यगत एकता हुन नसक्दा ठूलो राजनीतिक क्षति व्यहोर्नुपरेको बताएका छन्।
मदन भण्डारी फाउण्डेसनले मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा आइतबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा बोल्दै खनालले वाम आन्दोलन इतिहासको मागअनुसार अघि बढ्न नसकेको टिप्पणी गरे।
कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत सहभागी छन् ।
खनालले पछिल्लो निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिस्ट पार्टी (एमाले)बीच कार्यगत एकता भएको भए परिणाम फरक हुने दाबी गरे । उनका अनुसार एकीकृत समाजवादीले १७ र एमालेले २५ सिट जित्दा दुई दलको कुल ४२ सिट भए पनि एकता नहुँदा ३२ सिट गुमाउनुपरेको थियो ।
उनले उक्त ३२ सिट वामपन्थीको पक्षमा आएको भए प्रतिनिधिसभामा करिब १०० सिट पुग्ने अवस्था बन्ने र देशको राजनीतिक परिस्थिति नै फरक हुने जिकिर गरे। 'यदि दुई दल मिलेर चुनाव लडेका भए आज वामपन्थीको करिब १०० सिट हुने थियो। अहिले देखिएको अवस्था र बालेनको तानासाह पनि चल्ने थिएन, देशको परिस्थिति नै बेग्लै हुन्थ्यो,' खनालले भने।
उनले इतिहास र जनताको अपेक्षाअनुसार वामपन्थी शक्तिहरू अघि बढ्न नसकेको भन्दै आगामी दिनमा एकतामार्फत त्यसको समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याए।