काठमाडौं — श्रीलंकाको राजनीतिक संकट तत्कालै अन्त्य हुने लक्षण देखिएको छैन । विवादास्पद कदम उठाउँदै राष्ट्रपति मैत्रीपाला सिरिसेनाले रनिल विक्रमसिंघेलाई हटाएर महिन्दा राजपक्षेलाई प्रधानमन्त्री बनाएका थिए ।
आइतवार राजपक्षेले श्रीलंका फ्रीडम पार्टीसँगको ५० वर्ष पुरानो सम्बन्ध तोडेर श्रीलंका पीपुल्स पार्टीको सदस्य बनेका छन् ।
राजपक्षेको यो कदमले जनवरी ५ मा हुने चुनावमा उनी सिरिसेनाको पार्टीमुनि नभई आफ्नै पार्टीबाट चुनाव लड्ने संकेत पाइएको छ ।
पूर्वराष्ट्रपति राजपक्षेले आफ्नै समर्थकहरूले बनाएको पीपुल्स पार्टीको आइतवार सदस्यता लिएका हुन् । फ्रीडम पार्टीका संस्थापक राजपक्षेका पिता थिए । उनले सन् १९५१ मा यो पार्टी बनाएका थिए ।
गत वर्ष राजपक्षे समर्थकहरूले पीपुल्स पार्टी बनाएका थिए र उनलाई राजनीतिमा फर्काउनका लागि बाटो खोलेका थिए । पार्टीले फेब्रुअरीमा भएको स्थानीय परिषद्का चुनावमा दुई तिहाइ सीट जितेको थियो ।
सन् २०१५ मा भएको राष्ट्रपति निर्वाचनमा ७२ वर्षीय राजपक्षे आफ्ना डेप्युटी सिरिसेनासँग हारेका थिए । सिरिसेनाले विक्रमसिंघेको युनाइटेड नेसनल पार्टीको समर्थन लिएका थिए ।
पछि सिरिसेना र विक्रमसिंघेबीच अधिकारको बाँडफाँडमा विषयमा तनाव भएको थियो । अक्टोबर २६ मा सिरिसेनाले विक्रमसिंघेलाई पदबाट हटाएर राजपक्षेलाई प्रधानमन्त्री बनाएका थिए ।
सिरिसेनाले नोभेम्बर १६ सम्म संवैधानिक गतिविधि रोकिदिएका थिए । घरेलु तथा अन्तर्राष्ट्रिय दबाबमा नोभेम्बर १४ मा उनले संसद् चलाउने अनुमति दिएका थिए ।
तर शुक्रवार सिरिसेनाले संसद् भंग गरेर जनवरी ५ मा तत्कालै चुनाव गराउने आदेश दिएका थिए । राजपक्षेले संसदमा बहुमत पाएका थिएनन् । पदमा कायम रहनका लागि उनले कम्तीका ११३ सदस्यको समर्थन लिनुपर्ने हुन्छ ।
एजेन्सी