
बुटवल – रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ५ का वडा सचिवले छिमेकी महिलालाई बोक्सीको आरोप लगाउँदै दुर्व्यवहार गरेपछि पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार तिलोत्तमाको वडा नम्बर ४ मा घर भई ५ मा कार्यरत वडासचिव टीकाराम आचार्य बोक्सीको आरोपमा छिमेकी महिलालाई दुर्व्यवहार गरेपछि प्रहरी हिरासतमा पुगेका हुन् ।
इप्रका बुटवलका प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लका अनुसार बोक्सी आरोप लगाउँदै कुटपिट गरेको छिमेकी महिला डम्बरकुमारी न्यौपानेले उजुरी गरेपछि सचिवसँगै उनकी पत्नी र छोरीलाई पनि प्रहरीले पक्राउ गरिएको बताए ।
केही महिना अगाडि मात्र सरूवा भएर तिलोत्तमा आएका उनको तिलोत्तमा–४ नयाँमिलमा निवासी हुन् । आचार्य परिवारले बुधबार आफूलाई बोक्सी भन्दै कुटपिट गरेको बताउँदै छिमेकी डम्बरकुमारी न्यौपानेले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेको डीएसपी मल्लले जानकारी दिए ।
पक्राउ परेका आचार्यको परिवारलाई अहिले इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ । प्रहरी नायव उपरीक्षक मल्लले घटनालाई गम्भीर रूपमा लिई अनुसन्धान गरिरहेको बताए ।
तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले अहिलेको जमानामा बोक्सीको आरोपमा दुर्व्यवहार गर्नु दुःखद कुरा भएको भन्दै आरोपीलाई कानून अनुसारको सजाय हुनुपर्ने बताए ।
श्रीले आचार्यको परिवारले दुर्व्यवहार गर्दा वडासचिव रमिते बनेको आफूलाई जानकारी आएको बताए । प्रवक्ता श्रीका अनुसार आचार्य भर्खरै मात्र बाहिर जिल्लाबाट तिलोत्तमा सरूवा भएर आएको हुन् । उनी नायव सुब्बा रहेको बताइएको छ । पक्राउ परेका आचार्यको ३ जनाकै परिवारलाई जिल्ला अदालत रूपन्देहीबाट म्याद थप गरी अनुसन्धान प्रहरीले जानकारी दिएको छ ।