११ साउन २०८३, सोमबार

भ्रष्टाचार गर्नेलाई सरकारी कार्यक्रम दिइन्न : मन्त्री केसी

कात्तिक २६, २०७५
भ्रष्टाचार गर्नेलाई सरकारी कार्यक्रम दिइन्न : मन्त्री केसी

सुर्खेत – कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले भ्रष्टाचार गर्ने, कमिशन खानेलाई कार्यक्रम नदिने बताएकी छन् ।

सोमवार लेकबेसी नगरपालिकामा आयोजना गरिएको समृद्ध कृषि सहकारी संस्थाको भवन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री केसीले यसअघि भ्रष्टाचार गर्नेको हातमा कृषि मन्त्रालयको कार्यक्रम जाने भएका कारण कृषि क्षेत्रप्रति जनतामा नैराश्यता उत्पन्न भएको बताइन् ।

अनुदान बिचौलियाको हातमा

‘विगतमा सही पशुपालन गर्ने र तरकारी खेती गर्ने किसानले अनुदान पाएन । फलस्वरुप कृषि पेशाप्रति जनताको ध्यान कम गयो,’ उनले भनिन्, ‘अब प्रदेश सरकार त्यस्तो गर्ने छैन । जो किसानले खेती गरेको छ, उसैले मात्रै राहत पाउने निश्चित छ ।’ यसअघि राज्यले दिने अनुदान आवश्यक परेकालाई नदिइएको बताउँदै उनले अनुदान बिचौलियाले अर्कैको फार्म वा तरकारी खेती देखाएर खाने गरेको पाइएको बताइन् । तर, अब कर्णाली प्रदेश सरकारले जनताको आँगनमै पुगेर, निरीक्षण गरेर मात्रै अनुदान वितरण गर्ने गरी मन्त्रालयले कार्यविधि बनाइरहेको बताइन् ।

कर्णालीमै बीऊ खपत गरिने

लेकबेसी नगरपालिकामा जनताले उत्पादन गरेको गहुँको बीऊ १० मेट्रिक टन खेर गएको खबरले आफूलाई दुखित तुल्याएको उनले बताइन् । ‘किसानले उत्पादन गरेका कृषिजन्य वस्तु बजारीकरणको अभावमा खेर जाने दशा आउनु दुर्भाग्यपूर्ण हो,’ मन्त्री केसीले भनिन्, ‘तर, हामी अब त्यसो हुन दिने छैनौं । कम्तिमा किसानलाई निरुत्साहित हुने गरी प्रदेश सरकारले नीति तय गर्ने छैन । किसानका उत्पादन बरु सरकारले नै किनेर भएपनि किसानलाई उचित क्षतिपूर्ति दिने प्रतिबद्धता व्यक्त गर्दछु ।’

कर्णालीमा उत्पादन भएको बीऊलाई कर्णालीमा नै कसरी खपत गर्न सकिन्छ भन्ने बारेमा प्रदेशका सबै स्थानीय तहसँग समन्वय गर्ने बताइन् । ‘भारत तथा तराईबाट ल्याइएको बीऊसँग हामीले प्रतिस्पर्धा गर्न सक्दैनौं,’ उनले भनिन्, ‘पहिले कर्णाली प्रदेशमा नै खपत गर्नेबारे केही सोचौं । अनि सरकारले बजारीकरणबारे अन्य स्थानका लागि उपाय निकाल्ने छ ।’

उत्पादक नायक/नायिका घोषणा

मन्त्री केसीले कर्णाली प्रदेश सरकारले कृषिमा आधारित रहेर ७० लाख बराबरको बजेट पुरस्कार तथा प्रोत्साहनमा खर्च गर्ने बताइन् । ‘नग्न स्वरुप भएका मिस्टर र मिसेज घोषणा गर्नुभन्दा कृषि पेशामा लागेका, सबैभन्दा राम्रो काम गर्न सकेका युवा युवतीलाई उत्पादक नायक तथा नायिका भनेर पुरस्कारको ठूलो धनराशी मन्त्रालयले विनियोजन गरेको छ,’ उनले भनिन्, ‘यस्ता प्रोत्साहनका कार्यक्रमले आमयुवामा सकारात्मक प्रभाव जाने र कृषि पेशाप्रति सम्मान प्रकट हुने अपेक्षा मन्त्रालयको छ ।’

किसानमैत्री कानून बनाइने : सांसद नेपाली

सांसद सिताकुमारी नेपालीले यसअघि बनाइएका बानून किसानमैत्री नभएको बताउँदै सरकारले ल्याउने कानूनमा आफूहरूले संशोधन हालेर भएपनि किसानमैत्री बनाउने बताइन् । ‘यसअघिका कानूनले हुनेखानेलाई फाइदा पुर्याएको हामीले सुनेका र भोगेका छौं,’ सांसद नेपालीले भनिन्, ‘तर, प्रदेशसभाले त्यस्तो कानून बनाउने छैन । हामी कर्णालीवासी किसानको पक्षमा कानून बनाउँछौं ।’ 

आत्मनिर्भर लेकबेसीका लागि कृषि : नगर प्रमुख सुनार

लेकबेसी नगरपालिकाका नगर प्रमुख गगनसिंह सुनारले लेकबेसी नगरको समृद्धिको पहिलो आधभार नै कृषि भएको बताए । ‘हाम्रो नगरपालिकालाई आत्म निर्भर बनाउन कृषिको व्यावसायिकरण आवश्यक छ,’ उनले भने, ‘त्यसका लागि आवश्यक गृहकार्य हामीले अघि बढाइरहेका छौं ।’ उनले लेकबेसीको समृद्धिका लागि सरकार, जनता र सहकारी मिलेर जानुको विकल्प नभएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्