ललितपुर १८ फागुन– पत्रकारिताको भाषामा सरलताको अभाव हुन थालेको बताइएको छ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाले ललितपुर उपमहानगरपालिकाको सहयोगमा बुधवार आयोजित पत्रकारिता तालिममा पत्रकारहरुले भाषालाई पनि महत्व दिनुपर्ने बताइएको छ ।
तालिममा नेपाल पत्रकार महासंघका पूर्वमहासचिव ओम शर्माले समाचार मात्र कमी नभई भाषा पनि कमी हुन थाललेको चर्चा गरे ।
श्रोत नै उल्लेख नगरी लाजमर्दो तरिकाले समाचारहरु कपी भइरहेको उनको भनाई छ । अहिले समाचार लेख्ने पत्रकारहरुको कमी भएको चर्चा गर्दै उनले पत्रकार महासंघले पनि दक्ष पत्रकार उत्पादन गर्नुपर्ने बताए ।
ललितपुर उपमहानगरपालिकाका प्रमुख तथा कार्यकारी अधिकृत भरतमणी पाण्डेले स्थानीय निकायले जनस्तरमा गरिरहेका कामहरुको प्रभावका बारेमा खवरदारी गर्ने कामम मिडियाको प्रभावकारी भूमिका जुरुरी रहेको चर्चा गरे ।
उनले मिडिया र पत्रकारहरुको लागि उप–महानगरपालिकाले सस्थागत रुपमा पत्रकार महासंघबाटै काम अगाडी बढाउने बताए ।
नेपाल पत्रकार महासंघ ललितपुर शाखाका अध्यक्ष लेखनाथ न्यौपानेले आफुहरुको पहिलो जोड आफ्ना सदस्य पत्रकारहरुको क्षमता अभिबृद्धिमा रहेको बताए ।
तालिममा भाषा विज्ञ शरदचन्द्र वस्ती, त्रिभुुवन विश्वविद्यालय पत्रकारिता विभागका उपप्राध्यापक श्रीराम पौडेल लगायतले प्रशिक्षण दिएका थिए । एकदिने सो तालिममा ललितपुरमा क्रियाशील ५५ जना पत्रकारहरु सहभागी थिए ।