
काठमाडौं –नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' आफ्ना छोरा प्रकाश दाहालको स्मृति दिवसमा बोल्दाबोल्दै भक्कानिएका छन् ।
प्रकाशको पहिलो स्मृति दिवसका अवसरमा सोमवार आफ्नै निवास खुमलटारमा आयोजित कार्यक्रममा उपस्थित पाहुनाहरूलाई धन्यवाद दिने क्रममा प्रचण्ड भक्कानिएका हुन् ।
उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूसहित विशिष्ट पाहुना उपस्थित कार्यक्रममा गला अवरुद्ध पार्दै प्रचण्डले भने– 'यो उपस्थितिले हाम्रो परिवार, पार्टी र मलाई नयाँ ऊर्जा थपेको महसुस भएको छ । यो उपस्थिति राष्ट्रको हितमा निरन्तर लाग्ने प्रेरणा बनेको छ । यस किसिमको सद्भाव, प्रेरणा र विश्वास हुँदैनथ्यो भने शायद हाम्रो परिवार नै विघटन भइसकेको हुनेथियो ।'
प्रकाशको असामयिक निधनपछिको अवस्थालाई सामना गर्न सजिलो नभएको स्मरण गर्दै प्रचण्डले यसक्रममा पाएको साथ, सद्भाव र हौसलाका लागि सबैलाई धन्यवाद दिए ।
सोही सद्भावले आफूहरूमा शोकलाई शक्तिमा बदल्ने प्रेरणा मिलेको प्रचण्डको भनाइ थियो ।
उनले प्रकाश दाहाल बिस्तारै परिपक्व हुँदै गएको अवस्था पनि स्मरण गरे ।
'उसमा बालसुलभ कमी कमजोरी पनि थियो तर नजिकबाट नियालेको नाताले धेरै परिपक्व हुँदै थियो । भरोसा गर्न सकिने अवस्था थियो,' प्रचण्डले आफ्नो छोरालाई सम्झिए ।
प्रकाशको निधनपछि नर्भिक अस्पतालदेखि आर्यघाटसम्म पुगेको युवाको भीडले आफूमा धेरै प्रकाशहरूको जिम्मेवारी रहेको महसुस भएको प्रचण्डले सुनाए ।
प्रकाशको गत वर्ष मंसिर ३ अर्थात् आजकै दिन हृदयाघातका कारण निधन भएको थियो ।
यो पनि पढ्नुहोस्