
काठमाडौं — बिकिनी लगाएका युवतीलाई कार धुन लगाएपछि एउटा कम्पनीलाई नारीवादी समूहले तारो बनाएको छ ।
अस्ट्रेलियाको मेलबर्नस्थित किटेन्स कार वाश कम्पनीले बिकिनी युवतीलाई कार र बाइक धुन लगाउने गरेको छ । त्यसैले गर्दा कम्पनी ग्राहकहरूमाझ लोकप्रिय पनि छ ।
सामाजिक सञ्जालमा कार वाश कम्पनीका फोटाहरू पनि आएका छन् । त्यसमा बिकिनी युवतीहरूले प्रेमपूर्वक कार सफा गरेको देखिन्छ । तर एक नारीवादी समूहले यसको निन्दा गरेको छ ।
कलेक्टिभ शाउट नामक नारीवादी समूहले यसलाई लिंगभेदी तरिका भनेर आलोचना गरेको हो ।
उक्त संस्थाका अभियान व्यवस्थापक क्याटलीन रोपरले भनिन्, ‘यस्ता कम्पनीले महिलालाई वस्तुका रूपमा पेश गर्ने गरेका छन् । यस्ता कुरा नहुने संसार हामी हेर्न चाहन्छौं ।’
कम्पनीले सडकको किनारमा ठूलो पोस्टर राखेर अर्धनग्न महिलासहितको विज्ञापन बनाएको छ । त्यो देखेर ग्राहकहरू कार सफा गराउन आउने गरेका छन् । यो कम्पनीले अर्धनग्न नृत्य क्लब पनि चलाउने गरेको छ ।
कलेक्टिभ शाउटको आपत्तिपछि किटेन कम्पनीले युवतीहरू आफ्नै मर्जीले बिकिनी लगाएर कार सफा गर्न आएको र उनीहरू बिकिनीमा सुन्दर तथा आत्मविश्वासपूर्ण देखिने जवाफ फर्काएको छ ।
एजेन्सी