
काठमाडौं – नेपाल कपडा उद्योग संघको आह्वानमा बन्द भएका कपडा उद्योगहरू पुनः सञ्चालनमा आएका छन् ।
बन्द रहेका कपडा उद्योगहरू अर्थमन्त्री युवराज खतिवडाले १० दिनभित्र उद्योगीका माग सम्बोधन गर्ने आश्वासन दिएपछि सोमबारदेखि पुनः सञ्चालनमा आएका हुन् ।
कपडा उद्योग संघ र अर्थमन्त्री डा. युवराज खतिवडाबीच आइतबार भएको भेटमा मन्त्री खतिवडाले समस्या सामाधान गर्ने बताएकाले आफूहरूले बन्द गरेका कपडा उद्योग पुनः सञ्चलनमा ल्याउने निर्णय गरेको कपडा उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले बताए ।
‘हामीले मन्त्रीज्यूसँग भेट गर्यौं,’ अध्यक्ष प्रधानले भने, ‘मन्त्रीज्यूले १० दिनभित्र समस्या सामाधान गर्ने बताएकाले आजैदेखि सबै उद्योग खोल्ने निर्णय गरेका हौं ।’
यसअघि सरकारले चालु आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् कपडा उद्योगीलाई दिइँदै आएको भ्याट फिर्ताको प्रावधान हटाएको थियो ।
सरकारले भ्याट फिर्ताको प्रावधान हटाएपछि आफूहरूलाई उद्योग सञ्चालनमा समस्या भएको उद्योगीले बताउँदै आएका थिए ।
सरकारले कपडा उद्योगलाई बढावा दिने उद्देश्यले दिएको भ्याट फिर्ताको सुविधा उद्योगीहरूले दुरूपयोग गर्न थालेपछि भ्याट फिर्ताको प्रावधान चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्फत् हटाएको थियो ।
संघले भ्याट छुटको प्रावधान हटाएपछि सो बराबरको रकम नगद अनुदानमा पाउनुपर्ने, उद्योगले नयाँ मेसिन खरिद गर्दा ३० प्रतिशत नगद अनुदान पाउनुपर्ने लगायतका माग उद्योगीले राखेका छन् ।