
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्वमा सरकार गठन भएको सोमबार नौ महिना पुगेको छ । दुई तिहाइ बहुमतको यो सरकारलाई पाँच वर्षको स्थायी सरकार पनि हो ।
छोटो–छोटो समयमा सरकार फेरबदल भइरहँदा आजित भएका नागरिकले स्थायी सरकार गठन भएसँगै राहत महसुस गरेका थिए भने, दुई तिहाइको सरकारसँग अपेक्षा पनि धेरै नै थियो । यस्तै प्रतिपक्षी दल नेपाली कांग्रेसको पनि त्यही अपेक्षा थियो । सोही कारण संसदीय व्यवस्थामा विरलै हुने घटनामा सरकारको नीति तथा कार्यक्रमलाई प्रतिपक्षीले पारित गर्न सहयोग गरेको थियो ।
तर, पछिल्लो समय कांग्रेस नेताहरूले सरकारको खुलेरै आलोचना गरेका छन् । सरकारले शान्ति सुरक्षा, जनजिविकाको सवालमा केही गर्न नसकेको उनीहरुको आरोप छ । सोमबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले सरकार असफल भएको दोहोर्याए ।
उनले दुई तिहाइको सरकार गठनसँगै मुलुकमा राजनीतक स्थिरता आएको चर्चा गरिएपनि त्यसको महसुस जनताले गर्न नसकेको बताए । मुलुकको राजनीति सत्ताउन्मुख हुँदै गएको उनको भनाइ छ । देउवाले यसले लोकतन्त्र नै नरहने अवस्था आउने हो कि भन्ने चिन्ता व्यक्त गरे । यस्तै सोही कार्यक्रममा कांग्रेस नेता गगन थापाले सरकार जनता र प्रतिपक्षी दलप्रति उत्तरदाही नबनेको आरोप लगाए ।