०३ असार २०८३, बुधबार

चलचित्रका 'ट्रेन्ड ब्रेकर' निश्चल : भीएफएक्स नभित्रिएसम्म आफ्नै फिल्म नबनाउने !

मंसिर ५, २०७५
चलचित्रका 'ट्रेन्ड ब्रेकर' निश्चल : भीएफएक्स नभित्रिएसम्म आफ्नै फिल्म नबनाउने !

काठमाडौं – निश्चल बस्नेत यस्ता निर्देशक तथा अभिनेता हुन्, जसले सुल्टो बगिरहेको खोलालाई उल्टो बगाउन खोजे । ६ वर्षअघि निर्माण भएको चलचित्र ‘लूट’बाट उनले नेपाली चलचित्रको धार नै परिवर्तन गरिदिए । 

परम्परागत रूपमा चलिरहेको चलचित्रको स्वादमा नयाँ टेस्ट ल्याए । उनले ल्याएको टेस्टलाई दर्शकले रुचाए अनि हलसम्म तानिए । ‘लूट’ प्रदर्शनदेखि उनी निर्देशक र अभिनेताका रूपमा लाइम लाइटमा आए । निर्देशनसँगै अभिनयबाट नेम र फेम पाए । त्यसयता उनको चर्चा निरन्तर रह्यो । 

उनको निर्देशनमा बनेको अर्को चलचित्र ‘टलकजंग भर्सेज टुल्के’ले पनि दर्शकलाई फरक स्वाद दियो । ‘लूट’को दोस्रो भाग ‘लूट–२’ हेर्न पनि हलमा दर्शकको ओइरो लाग्यो । त्यसपश्चात निश्चल अभिनित ‘दुई रूपैयाँ’ले पनि सफलता पायो । 

उनी निर्देशक र अभिनयका कारण मात्रै चर्चामा रहेनन् नृत्यले पनि उनलाई निरन्तर चर्चामा ल्यायो । यसरी लगातार सफलताको स्वाद चाखिरहेका निश्चललाई नेपाली चलचित्रको वर्तमान अवस्था देखेर भने उकेद लाग्छ । 
सोमबार दिउँसो लोकान्तरसँगको कुराकानीमा नेपाली चलचित्रको अवस्थाप्रति निश्चल गम्भीर देखिए । 

‘दुःखका साथ भन्नुपर्छ– ९० प्रतिशत चलचित्र देखासिकीमा बनिरहेका छन्,’ उनले भने । 

वर्षमा सयको हाराहारीमा चलचित्र प्रदर्शनमा आउने गरेका छन् । त्यसमा नाफा कमाउनेको संख्या १० प्रतिशत पनि छैन । मंसिर २१ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘प्रसाद’को प्रचारप्रसारमा व्यस्त निश्चल नेपाली निर्माताहरू बजारमा के चलिरहेको छ, त्यसमै दौडिरहेको औल्याउँछन् । 

‘९० प्रतिशत चलचित्र चल्छको पछाडि लागेर चलिरहेका छन्,’ उनी भन्छन्– ‘चल्ने के ? हसाउने डाइलग, कुनै रुवाउने सिन । यही चिजले चल्छ भनेर सोच्ने मान्यता नै गलत छ ।’

चलचित्र भनेको बजारमा के चल्छ त्यसैको पछाडि दौडने मात्र होइन । एउटा स्टोरीलाई कसरी प्रस्तुत गर्न खोजिएको छ, चलचित्रले चित्त बुझ्ने ढंगले कथा भन्यो कि भनेन त्यो महत्त्वपूर्ण हो । उनले थपे, ‘अरुलाई मात्र भनिरहेको होइन कि म आफैं पनि त्यो कुरा दिन सकिहेको छैन ।’ 

चलचित्र मजबुत बन्न सर्वप्रथम कथा बलियो हुनुपर्छ त्यसपछि अन्य कुराहरू आउँछन् । स्टोरीमै मेहनत छैन भने अन्य कुरामा जतिसुकै लगानी गरेपनि चलचित्र स्तरीय बन्दैन । तर नेपाली चलचित्रमा मेहेनत हुनुपर्ने पक्षमै मेहेनत नपुगेको उनको विश्लेषण छ ।

‘चलचित्र स्क्रिप्ट राइटरहरुले क्रिएट गरेको संसार हो । चलचित्रमा २/३ करोड लगानी गर्दा स्टोरीमा मेहनत नै पुगिरहेको छैन । एक/डेढ लाख रूपैयाँमा स्क्रिप्ट लेख्न लगाएर उसले कति दिमाग लगाउँछ ?’ उनी प्रश्न गर्छन् । 

चलचित्रले समाजको कथा बोल्नुपर्छ । चलचित्रलाई समाजसँग जोड्न सर्वप्रथम स्क्रिप्ट राइटर अग्रसर हुनुपर्ने निश्चल बताउँछन् । अर्को स्टोरी तयार नहुँदै बजारमा आउने समस्या व्याप्त छ । 

यो बाहेक पनि उनी चलचित्रमा समस्यै समस्या देख्छन् । चलचित्र नबुझी यो क्षेत्रमा प्रवेश  गर्नु, पैसा हालेर चलचित्र खेल्नु, प्रविधि, दक्ष जनशक्ति आदिको समस्या रहेको उनी बताउँछन् । तर चलचित्र क्षेत्रलाई माथि उठाउने दायित्व पनि आफूहरूकै रहेको बताउँछन्, निश्चल ।

‘सुधारको प्रयास आफूबाटै गर्नुपर्छ भनेर सोच्नुस् । आफूले गर्ने काम राम्रो गरेर देखाउनुहोस् चलचित्र क्षेत्र आफैं चेञ्ज हुन्छ,’ उनी भन्छन्, ‘धेरै जनाले त्यो सोचाई बनाएर लाग्ने हो भने परिवर्तन हुन थेरै समय लाग्दैन ।’ 

निर्देशन र अभिनयमा सक्रिय रहेपनि निर्माणमा भने उनी केही समय नआउने बताउँछन् ।

‘म आफूलाई जुन कथा भन्न मन लाग्छ, त्यसलाई राम्रोसँग प्रस्तुत गर्नुपर्छ,’ उनी थप्छन्, ‘त्यसका लागि पूरा तयारी भएपछि मात्र चलचित्र बनाउँछु ।’

उनमा चलचित्रको नयाँ कन्सेप्ट फुरेको छ । तर टेक्निकल कुराहरू सिक्नुपर्ने छ । आफूले सोचेको कथामा उनले भीएफएक्सको प्रयोग देखेका छन् । 

‘स्टोरी सोचिसकेको छु । म आफैंले लेख्छु वा लेख्न लगाउँछु,’ लोकान्तरसंग उनले भने, ‘जुन दिन मलाई टेक्निकल प्रोसेसमा अब हामी गर्न सक्छौं भन्ने लाग्छ, त्यो दिन मात्रै चलचित्र बनाउँछु ।’

भीएफएक्समा नेपाली चलचित्र धेरै पछाडि छ, यो कुरा निश्चलले राम्रोसँग बुझेका छन् ।

‘चलचित्र हेरिरहँदा दर्शकले भीएफएक्स हो भनेर थाहा पाउनुभएन भने मात्र म सफल हुन्छु । त्यो देखाउन नसक्दासम्म म चलचित्र निर्माण नै गर्दिनँ ।’

salt training

कमेन्ट गर्नुहोस्