
काठमाडौं– प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले राष्ट्रपति विद्यादेवी भण्डारीका लागि सरकारले खरिद गर्न लागेको भनिएको महंगो गाडी र हवाई भाडाका सम्बन्धमा छानबिन गर्ने भएको छ ।
सार्वजनिक लेखा समितिको मंगलवार बसेको बैठकमा राष्ट्रपतिका लागि सरकारले खरिद गर्न लागेको गाडी र हवाई भाडाको दरका सम्बन्धमा छानबिन गर्ने विषय उठेको हो । बैठकमा समितिका सभापति भरत शाहले राष्ट्रपतिका लागि मंहगो गाडी खरिद गर्नुपर्ने कारणबारे प्रश्न उठाउँदै गाडी खरिद प्रकरणमा छानबिन गरिने बताए ।
सरकारले राष्ट्रपतिका लागि १८ करोड रुपैयाँको गाडी खरिद गर्न लागेको विषय सार्वजनिक भएको छ । राष्ट्रपतिका लागि गाडी खरिदका लागि यसअघि अर्थमन्त्रालयले ४ करोड रुपैयाँ निकासा गरे पनि उक्त रकम अपुग हुने भन्दै राष्ट्रपति कार्यालयले थप १४ करोड रुपैयाँ माग गरेको थियो ।
त्यस्तै समितिले हवाई भाडाका सम्बन्धमा पनि छानबिन गर्ने भएको छ । सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले दिएको सुझावका आधारमा समितिले हवाई भाडा दरमा देखिएको उतार चढावको छानबिन गर्ने भएको हो ।
उपसमितिले तयार पारेको प्रतिवेदनमा हवाई भाडा दरमा देखिएको उतार चढाव, उडानमा हुने ढिलासुस्ती, उडान रद्द, चाडपर्वका समयमा हुने टिकट अभावजस्ता समस्याबाट यात्रुबर्गलाई परेको असुविधाका सम्बन्धमा विस्तृत अध्ययन गरिनु पर्ने औंल्याएको छ ।
समितिका सभापति शाहले उपसमितिको प्रतिवेदनअनुसार आगामी बैठकमा थप छलफल गरिने र छानबिन गरिने बताए ।
समितिको बैठकमा चिनीको मुल्य वृद्धि, आयातमा सरकारले लगाएको प्रतिबन्ध लगायतका विषयमा पनि छलफल भएको थियो ।