
सुर्खेत– कर्णाली प्रदेशको राजधानी शहर वीरेन्द्रनगरका सडक पछिल्लो समय अस्तव्यस्त देखिएको छ । राजधानी घोषणा भएसँगै अन्य जिल्लाबाट बसाई सर्ने क्रम बढेसँगै यातायातका साधनहरुसमेत वृद्धि भएसँगै नगरमा सवारी जाम बढ्न थालेको हो । नगरका भित्री सडकहरु अत्यन्तै साँघुरा भएका कारण पनि जाम बढेको स्थानीय आर्किटेस्ट सुवास शाक्य बताउँछन् ।
वीरेन्द्र नगरको सवारी व्यवस्थापनमा दुई वर्ष अघि र अहिले आकाश पातालको फरक भएको छ । विगत स्मरण गर्दै उनले लोकान्तरसँग भने, यस्तै अवस्था रहेको खण्डमा यहाँका सडकहरुमा लामो जाम लाग्ने छ ।’
उनले राजधानी घोषणा भएसंगै बजार क्षेत्रमा घरभाडा बढेको तथा सवारी साधनको संख्यामा उल्लेख्य वृद्धि भएको बताए । आजभोलि बजार क्षेत्रमा विहान र बेलुकाको समयमा जाम हुने हुँदा समस्या आएको छ । फुटपाथ अव्यवस्थित हुँदा सर्वसाधारणले सास्ती व्यहोरेका छन् ।
अर्का स्थानीय टोपबहादुर क्षेत्रीले राजधानी भएतापनि स्थानीय र प्रदेश सरकारले बजार क्षेत्रको सडक व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिए । ‘सवारीको चाप धेरै भएका कारण दुर्घटना बढ्न सक्छ उनले भने, दुर्घटना न्यूनिकरण गर्न प्रदेश तथा स्थानीय सरकारले बेलैमा बजार क्षेत्रका सडकहरु व्यवस्थापन गर्न आवश्यक छ ।’
जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बुढा क्षेत्रीका अनुसार सडकमा सवारी राख्ने गरेका कारण पछिल्लो समय जाम बढेको हो । उनका अनुसार जाम न्यूनिकरणका लागि पार्किङ स्थल खोज्ने, बढी जाम हुने स्थानमा जेब्राक्रस बनाउने योजना ट्राफिक प्रहरीले बनाइरहेको छ । विभिन्न दातृ निकायसँगगको समन्वयमा आफूहरुले सडकलाई थप व्यवस्थित बनाउने प्रयास गर्नेछौं । प्रहरी निरीक्षक बुढा क्षेत्रीले अहिले दैनिक रुपमा दश स्थानमा सवारी दुर्घटना न्यूनिकरणका लागि ट्राफिक नियमहरु सिकाउने काम भइरहेको बताए । यसका साथसाथै सवारी चेकजाँचमा पनि कडाई गरिएको उनको भनाइ छ ।
कति सवारी साधन छन् सुर्खेतमा ?
जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार जिल्लामा २० हजार १७४ सवारी साधनहरु रहेका छन् । जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक हरिबहादुर बुढा क्षेत्रीका अनुसार यी सवारी साधन जिल्लामा नियमित गुड्ने गरेका हुन् । उनका अनुसार जिल्लामा सबैभन्दा बढी मोटरसाइकल गुड्ने गरेका छन् । मोटरसाईकलको संख्या १७ हजार तीन सय ५८ पुग्दा अटो रिक्साको संख्या ११ सय पुगेको छ । ४७४ ट्याक्टर रहेको जिल्लामा ५२८ मिनि बस र बसहरु गुडने गरेका छन् । त्यस्तै ट्रक तथा टिप्पर ३३२, जिप तथा कार १९४, पावर टेलर १६५ र जेसीवि २३ ओटा रहेका छन् ।
जिल्लामा जम्मा ४७५ किलोमिटर सडक निर्माण भएको छ । ३३५ किलोमिटर पक्की सडक रहेको सुर्खृेतमा ७३ किलोमिटर सडक कच्ची छ । ग्राभेल सडक जम्मा ६७ किलोमिटर रहेको छ ।
नगरपालिका कार्यविधि बनाउँदै
बजार क्षेत्रमा रहेका सडकमा जाम बढदै गएपछि सवारी व्यवस्थापनका लागि नगरपालिकाले कार्यविधि बनाएको नगरप्रमुख देवकुमार सुवेदी बताउँछन् । उनका अनुसार जिल्ला प्रहरी कार्यालय, ट्राफिक कार्यालय र नगरपालिकाबीच समन्वय गरेर कुन सडकलाई टु वे बनाउने, कुन सडकलाई वान वे बनाउने जस्ता योजनाबो बारेमा टुंगो लगाइनेछ ।
उनले अहिले चिसो मौसम भएका कारण बजार क्षेत्रमा रहेका सडकहरु मर्मत, सम्भार तथा कालोपत्रे गर्न नसकिएको बताए । तर आगामी फागुन १५ पछि सडक सुधार गर्ने, निर्माण गर्ने गरी नगरपालिका अघि बढेको उनको भनाइ छ ।
नगरप्रमुख सुवेदीका अनुसार नगरपालिकाले साझेदारी अन्र्तगत फुटपाथ व्यवस्थापन गर्न डेढ करोड बजेट विनियोजन गरेको छ । शहरी विकास मन्त्रालय र प्रदेश सरकारसँग साझेदारी गरेर फुटपाथ व्यवस्थापनको काम अघि बढाईने नगरप्रमुख सुवेदीको भनाइ छ ।